कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले २१ उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ।
निर्वाचन अधिकृतको कार्यालयले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल लगायत ११ राजनीतिक दलका उम्मेदवारहरुलाई सम्बन्धित दलको चुनाव चिन्हसँगै १० स्वतन्त्र उम्मेदवारहरुलाई पनि चुनाव चिन्ह वितरण गरेको हो।
जसअनुसार, नेकपाकी उम्मेदवार विद्या भट्टराईले पुरानो एमालेकै चुनाव चिन्ह सूर्य पाएकी छिन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले रुख चिन्ह पाएका छन्। त्यसैगरी समाजवादी पार्टी नेपालका धर्मराज गुरुङले पाँच औँलासहितका हात, राप्रपाका रोमबहादुर भण्डारीले गाई, नेकपा मालेका टेकनाथ भणडरीले हँसिया तारा पाएका छन्।
यसअघि उक्त क्षेत्रबाट लगातार तीन पटक चुनाव जितेर पर्यटन मन्त्री समेत बनेका विद्या भट्टराईका श्रीमान स्वर्गीय रविन्द्र अधिकारीसँग विद्यार्थी जीवनकालदेखि पार्टी राजनीतिमा लामो समयसम्म क्रियाशील भएका पूर्वकर्मचारी कमलजङ्ग कुँबरले चुनाव चिन्ह शंख पाएका छन्।
वामपन्थी राजनीतिमा शिक्षित र दिक्षित भएर कर्मृचारी प्रशासनमा समेत राम्रो स्थान बनाएका वन तथा वातावरण मन्त्रालयका पूर्व उपसचिव कुँबर पछिल्लो समय पार्टी राजनीति र नेतृत्वको कार्यशैलीबाट असन्तुष्ट बन्दै यहि कार्तिक १७ गते सरकारी सेवाबाट राजीनामा दिएर कास्की क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार बन्न पुगेका थिए।
यसैगरी साझा पार्टीकी रजनी केसीले तराजु पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार उमानाथ गौतमले किताब, जमुना शर्माले गुलाफको फूल, दिपक रेग्मीले क्यामेरा, चन्द्रबहादुर रानाभाटले करुवा, नवराज वास्तोेलाले कलम, पूर्णबहादुर रानाले घर, यज्ञप्रसाद पँगेनीले आँप, रनबहादुर दमैले डोजर, रियाज गुरुङले कुखुराको भाले, लक्ष्मीकुमारी भुजेलले माहुरी, वीरबहादुर विश्वकर्माले जरायो, गंगा मल्लले हलो, सुनिलबहादुर कोइरालाले टेबल र सुनिल भुसालले क्रिकेट व्याट पाएका छन्।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय