हिमाल दैनिक
कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा तथा तीन जिल्लाको प्रदेश सभा सदस्य लगायत ३७ जिल्लाका ५२ रिक्त पदका लागि शनिबार छिटपुट घटना बाहेक शान्तिपूर्ण ढंगले मतदान कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार, सरदरमा ६५.४३ प्रतिशतको हाराहारीमा भएको मतदान कार्य सफलता पूर्वक सम्पन्न भएको हो। कूल ४ लाख ५४ हजार ११४ मतदाता रहेकामा २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी दिएको छ। १२ घण्टाभित्र निर्वाचनको ५० प्रतिशत नतिजा आइसक्ने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले जानकारी दिए। आयोगका अनुसार सवैभन्दा बढि भक्तपुरमा ७० प्रतिशत र सवैभन्दा कम रोल्पामा १६ दशमलब ४ प्रतिशत मत खसेको छ। कास्कीको क्षेत्र नम्बर २ का तीन वडामा चारवटा बम विष्फोट भएपनि कुनै मानवीय क्षति भने नभएको र करिब ६४ प्रतिशत मत खसेको अनुमान छ। प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन पश्चात रिक्त रहेको भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) मा भएको प्रदेशसभा पदका करिब ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। उक्त निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका थिए। सो क्षेत्रमा २२ वटा मतदान केन्द्र निर्धारण गरी मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ। त्यसैगरी दाङ र बाग्लुङका एक एक प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा पनि क्रमशः ६७ र ६५ प्रतिशत मत खसेको अनुमान छ। धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि पनि उपनिर्वाचन भएको थियो। जहाँ ५९ प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचन पनि ६० प्रतिशतकै हाराहरीमा मतदान भएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचनको पूर्ण जानकारी आउन बाँकी नै छ। उता रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा सम्पन्न उपनिर्वाचनमा नेकपाका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update