उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले १४ गते यहाँ हुने उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
भक्तपुरको कमल विनायकमा आयोजना गरिएको चुनावीसभामा आज साँझ समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले जनताले सधैँ नेकपा र काँग्रेसलाई मात्रै नभई वैकल्पिक शक्तिलाई पनि विश्वास गर्नुपर्ने बताए। जनताले नेपाल कम्युनिष्ट पार्टी र काँग्रेसको शासन सत्ताको नेतृत्व भोगिसकेको बताउँदै जनताले समाजवादी पार्टीलाई विश्वास गरे देश र जनताको पक्षमा काम गर्ने बताए।
उपप्रधानमन्त्री यादवले राजनीतिक, साङ्गठनिक र व्यावहारिकरूपमा पनि यो पार्टी वैकल्पिक शक्तिकै रूपमा आएको बताए।
कार्यक्रममा समाजवादी पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले समाजको विकासको पक्षमा राज्य सत्ता निर्माण गर्न समाजवादी पार्टीले उम्मेदवारी दिएको बताए। उनले काँग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काँग्रेस मात्रै नभई अब नयाँ वैकल्पिक शक्तिका रुपमा आएको समाजवादी पार्टीलाई जनताले विकल्पका रुपमा रोज्नुपर्छ भने।
कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, परशुराम खापुङ, केन्द्रिय सदस्य वीरेन्द्र प्रधान, भक्तपुर अध्यक्ष श्याम शिल्पकारले भक्तपुरमा पनि विकल्पका रूपमा समाजवादी पार्टी उदाएको बताउँदै जनताले अब समाजवादी पार्टीलाई विश्वास गर्नुपर्ने बताए।
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय