चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौँ महानगरपालिकाले तीनकुनेमा पार्क निर्माण सम्पन्न गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीनकुने हुँदै आउँदा आकर्षक र हरियाली वातावरण भएको उक्त पार्कमा विभिन्न फूल सजाइएको छ । निकै मेहनत गरी चिटिक्क बनाइएको पार्कले सर्वसाधारणलाई समेत मनोरञ्जन दिइरहेको छ । यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको भ्रमणले देशको अर्थ तथा कूटनीतिक क्षेत्रमा अर्थपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।
महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले राष्ट्रपति सीको भ्रमणका क्रममा सडकका दायाँबायाँ भागको पोलमा दुवै देशका झण्डाको व्यवस्थापनसमेत गरिएको जानकारी दिँदै त्रिपुरेश्वरदेखि रत्नपार्कसम्मका पर्खाल र फलामे बारमा सरसफाइ गरी रङरोगन लगाएर राम्रो बनाइएको बताउनुभयो । उहाँले महानगरपालिकाले लिएको जिम्मेवारी पूरा गरेको जानकारी दिनुभयो । सडकका किनारामा दुवै मुलुकका प्रमुखका तस्वीर अङ्कित ‘फ्लेक्स’ तथा स्वागतद्वारसमेत निर्माण गरिएको छ भने सडक मर्मतका कार्य सडक विभागले गरेको छ । रासस
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय