हिमाल दैनिक
१३ औं साग भलिबल : बंगलादेश बिरुद्ध नेपाली महिला टोलीको सहज जित, पुरूषको हार
DPSL1083-scaled
काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत बुधबारबाट सुरु भएको भलिबल खेल अन्तर्गत पहिलो खेलमा नेपाली महिला भलिबल टिमले पहिलो जित दर्ता गरेको छ। तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशसँग प्रतिस्पर्धा गरेको नेपालले खेल सोझो सेटमा सहजै जित्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलको पहिलो सेट २५-८ को अन्तरले जितेको नेपाली टिमले दोश्रो सेट पनि २५-९ ले जित्यो। त्यसपछि अन्तिम सेट नेपालले २५-११ ले जित्न सफल भयो। खेलको कुनै पनि समय बंगलादेशले नेपाली टिमलाई दबाब दिन सकेन। यस्तै साग पुरुष भलिबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हार बेहोरेको छ। नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित हुन पुग्यो। त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा सम्पन्न खेलमा सुरुवात देखि रोमान्चक रुपमा अघि बढेको खेलको पहिलो सेट नेपालले २५-२१ ले आफ्नो नाम गरेको थियो। त्यसपछि दोश्रो सेटमा बंगलादेशले पुनरागमन गर्दै २३-३५ ले जित्न सफल रह्यो। तेश्रो सेटमा पुनः नेपालले पुनरागमन गर्यो र २५-१९ ले जित्न सफल रह्यो। अत्यन्त रोमान्चक रहेको चौथो सेटमा भने बंगलादेश २४-२६ ले विजयी भएपछि खेल अन्तिम सेटसम्म पुग्यो। अन्तिम सेटमा नेपालले कमजोर प्रदर्शन गर्यो। घरेलु दर्शकको समर्थनका बाबजुद नेपालले त्यसको फाइदा उठाउन सकेन र चौथो सेट १५-१२ ले गुमाउन पुग्यो। साग अन्तर्गत नेपाली पुरुष भलिबल टिमले आगामी खेल भारतसंग शुक्रबार खेल्ने तालिका रहेको छ। खेल बेलुका ५ बजे सुरु हुनेछ। यद्धपि हालसम्म भारत खेल्ने या नखेल्ने तय भने भएको छैन। भारत नखेलेको खण्डमा नेपाल स्वतः सेमीफाइनल प्रवेश गर्नेछ। यदी भारत खेलेको खण्डमा भने नेपाल सेमी पुग्न भारतलाई पराजित गर्नु पर्नेछ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update