क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा यहाँ जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा क्याट क्विन्स काठमाडौँ विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले पोखरा पल्टनलाई ८२ रनले हरायो । बुधबार भएको उद्घाटन खेलमा काठमाडौँ चितवनसँग पाँच विकेटले पराजित भएको थियो । आज पहिले ब्याटिङ गर्दै काठमाडौँले पोखरालाई १५३ रनको लक्ष्य दिएको थियो । पोखरा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ७० रनमा समेटियो । पोखराका लागि कप्तान सीता रानामगरले सर्वाधिक १७ तथा बिन्दु रावलले १३ रन बनाइन् ।
पोखरालाई ७० रनमा समेट्ने क्रममा काठमाडौँकी सरस्वती चौधरी र अप्सरा बेगमले दुई÷दुई विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो । काठमाडौँका लागि कप्तान रुविना क्षेत्रीले अविजित ८३ रन बनाइन् । उनले ६७ बल खेल्दै दुई छक्का र १४ चौका प्रहार गरिन् । यस्तै रोमा थापाले १९, सोभा आलेले १२ र ईश्वरी विष्टले अविजित १० रन जोडिन ।
बलिङतर्फ पोखराकी अनुराधा चौधरीले चार विकेट लिइन् भने कविता कुँवरले एक विकेट हात पारिन् । आगामी कात्तिक ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्स सहभागी छन् । प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
–––
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय