हिमाल दैनिक
राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा
paras khadka
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताए । आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको दोस्रो दिन नै पारसले कप्तानी पदबाट राजीनामा दिएका हुन् । “मैले कप्तानको भूमिकाबाट राजीनामा दिने निर्णय गरेको छु”, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएको छु ।” पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुनुहुन्छ । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्नुभएको पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी समाएका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उनले कप्तानीको भूमिका निर्वाह गरेका थिए। पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो । रासस https://twitter.com/paras77/status/1183993871228784641
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update