हिमाल दैनिक
ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमनको सामना गर्दैछ । खेल दिउँसो सवाँ ३ बजे शुरु हुनेछ । यसअघि तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार व्योहोरेको छ । नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डलाई पनि समान चार विकेटले नै पराजित गरेको थियो । त्यस्तै नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो । तालिकाको शीर्ष स्थानमा रहेको आयोजक ओमान भने नेपालमाथि जीत हात पार्दै सिरिज उपाधि कब्जा गर्न दाउमा छ । यसअघि तीन खेल खेलेको ओमनले तीनै खेलमा जीत हासिल गरेको छ । ओमनले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो । प्रतियोगितामा छ अङ्क जोडेको ओमन अङ्क तालिकाको शीर्ष स्थानमा छ भने चार अङ्क जोडेको नेपाल तेस्रो स्थानमा छ । त्यस्तै चार खेलमा तीन खेल जितेर छ अङ्क नै बटुुलेको आयरल्याण्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने तीन खेलमा तीनवटै खेल हारेको नेदरल्याण्ड्स चौथो तथा हङकङ पाँचौँ स्थानमा छ । नेदरल्याण्ड् र हङकङ अङ्कविहीन छन् । उक्त सिरिजअन्तर्गतको आजै हुने अर्को खेलमा हङकङ र नेदरल्याण्ड्स भिड्दैछन् । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी छन् । रासस
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update