इटालीयन सिरी ए मा क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसले हेलास भेरोनालाई दुई एक गोलले हराएको छ । जितसँगै शिर्ष स्थानको इन्टर मिलानसँगको अग्रता दुई अंकमा झारेको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले भेरोनाको एक गोलको अग्रता उल्ट्याएको हो । पाहुना टिम भेरोनाले २० औं मिनेटमा मिगुइल भेलोसोको गोलमा अग्रता बनाएको थियो ।
तर सो अग्रता धेरैबेर टिक्न सकेन । ३१ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै युभेन्टसलाई बराबरीमा पुर्याए । यसैसिजन आर्सनलबाट युभेन्टस पुगेका राम्सेको यो सिरी ए मा डेब्यु गोल हो ।
पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ४९ औं मिनेटमा युभेन्टसले पेनाल्टीको अवसर पायो । जसलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गरे । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र युभेन्टसले तीन अंक हात पार्यो ।
गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले एसी मिलानलाई दुई शुन्यले हरायो । एसी मिलानको मैदानमा इन्टरको जितमा ब्रोजोभिक र रोमेलु लुकाकुले एक एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।
४९ औं मिनेटमा इन्टरले अग्रता बनायो । उसका लागि ब्रोजोभिकले सिन्सीको पासको सदुपयोग गर्दै गोल गरे । त्यसपछि ७८ औं मिनेटमा यसै सिजन म्यानचेस्टर युनाइटेडबाट इटाली पुगेका रोमेलु लुकाकुले ७८ औं मिनेटमा गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे ।
त्यसपछि एसी मिलान खेलमा फर्कन सकेन र इन्टर विजयी भयो । यो जितले इन्टर मिलान लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसको चार खेलमा १२ अंक भएको छ भने युभेन्टसका समान खेलबाट १० अंक छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय