हिमाल दैनिक
रेकर्ड योगफल बनाउदा स्कटल्याण्डद्वारा नेदरल्याण्ड पराजित
EEmgeoUXsAY1aXO
स्कटल्याण्डद्वारा नेदरल्याण्ड पराजित, एकै खेलमा बन्यो ४४६ रन आयरल्याण्डमा जारि नेदरल्याण्ड, स्कटल्याण्ड र आयरल्याण्ड बीच त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा स्कटल्याण्डले नेदरल्याण्डलाई ५८ रनले हराएको छ। डब्लिनमा टस हारेको स्कटल्याण्डले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटकै पाँचौ सर्वाधिक योगफल बनाउने क्रममा २० ओभरमा ३ विकेट गुमाएर २५२ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो। नेदरल्याण्डको लागि कप्तान पिटर सिलरले अविजित ४९ बलमा ९६ रन बनाए। उनले ९ चौका र ५ छक्का प्रहार गरे। एक समय ६२ रनमा ४ विकेट गुमाईसकेको अवस्थामा सिलरले आक्रामक इनिङ खेल्दै हारको अन्तर कम गरेका थिए। ५८ रनको जित रन अन्तरको आधारमा स्कटल्याण्डको दोस्रो ठूलो जित हो। यस अघि नेदरल्याण्डबिरुद्ध गत वर्ष स्कटल्याण्डले ११५ रनको जित दर्ता गरेको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले आक्रमक सुरूवात गर्‍यो। उसका लागि ओपनर जर्ज मुनसे र कायल कोट्जरले १५.१ ओभरमा २०० रनको ओपनिङ साझेदारी गरेका थिए। टी-२० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि यो तेस्रो ठूलो साझेदारी हो। यसै वर्ष अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजि र उस्मान घामिले आयरल्याण्ड बिरुद्ध सर्वाधिक २३६ रनको साझेदारी गरेका थिए। यस्तै गत वर्ष जिम्बाबे बिरुद्ध अस्ट्रेलियन ओपनर आरोन फिन्च र डारसी सर्टले २२३ रनको दोस्रो ठूलो साझेदारी गरेका थिए। मुनसेले अविजित १२७ रन बनाउँदा ५६ बलमा १४ छक्का र ५ चौका प्रहार गरे भने कप्तान कोट्जरले ५० बलमा ११ चौका र ५ छक्का मदतले ८९ रन बनाए। सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड र नेदरल्याणले अंक बाँडेका थिए। तेस्रो टी-२० आयरल्याण्ड र स्कटल्याण्ड बीच मंगलबार खेलिनेछ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update