अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल खाएपछि एएफसी यू-१६ च्याम्पियनसिप छनोटमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
छनोटको समूह ए मा रहेको नेपालले जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा ७४ औं मिनेटमा अग्रता बनाएको थियो । नेपालका लागि दिपेश राईले गोल गरेका थिए ।
तर नियमितपछि थपिएको ५ मिनेट इन्ज्यूरी समयको अन्तिम मिनेटमा कुवेतले पेनाल्टी पायो । अब्दुलवाहव अलहिन्दीले गोल गरी नेपालसँग अंक खोस्न सफल भए ।
समूहको आफ्नो पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७-० को निराशाजनक पराजय ब्यहोरेको नेपालका लागि आत्मविश्वास फर्काउने उपयुक्त अवसर थियो ।
हालैमात्र विश्वकप तथा एसियाली छनोट अन्तर्गतको खेलमा सिनियर टोलीले कुवेतबिरुद्ध ठूलो अन्तरको लज्जास्पद पराजय ब्यहोरे पनि युवा टोलीले पनि सानदार प्रदर्शन गरेका थिए ।
पाँच टोली सम्मिलित यस समूहमा नेपालको १ अंक भएको छ । २ खेलबाट कुवेतको ४ अंक छ । समान १ खेल खेलेको जोर्डन र ताजिकिस्तानको ३-३ अंक छ । २ खेलमा पराजय ब्यहोरेको श्रीलंका अंकबिहीन छ ।
समूहको तेस्रो खेलमा नेपालले शुक्रबार ताजिकिस्तानको सामना गर्नेछ ।
छनोट चरणमा ११ समूहका शीर्ष हुने टिम एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ४ उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय