हिमाल दैनिक
ओलम्पिक कमिटीमा नेकपा सांसद जीवनराम श्रेष्ठ निर्वाचित
NOC
नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। ललितपुरको सातदोबाटोस्थित एनओसीको भवनमा शनिबार भएको विशेष साधारणसभाबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा जीवनरामले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठलाई ७ भोटले पराजित गरे। कुल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत प्राप्त गरे भने उनका निकटत प्रतिद्धन्द्धी उमेशलालले १० मत प्राप्त गरी पराजित भए। यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ , अशोक राज बज्राचार्य , सुनिल श्रेष्ठ र चतुरानन्द बैद्य निर्वाचित भएका छन्। महासचिवमा निलेन्द्रराज श्रेष्ठ १५ मत ल्याएर विजयी भए। श्रेष्ठले पुरेन्द्रबिक्रम लाखेलाई ३ मतले पछि पारे। सचिवमा रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापा निर्वाचित भएका छन्। उप महासचिवमा पिताम्बर तिमिल्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। सदस्यमा रमेशप्रसाद सिवाकोटी (२६), राम अवाले (२०), प्रकाशशम्शेर राणा (२६), गोपालसुन्दर लाल कक्षपति (२६), टाँसी घले (२४), होमबहादुर दोङ (२५) र दिर्घबहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित भए।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update