विश्वकप उपविजेता क्रोएसियाले युरोकप २०२० को छनोट प्रतियोगितामा अजरबैजानसँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
घरेलु मैदानमा विशेष गरी दोस्रो हाफमा निकै नै प्रभावशाली देखिएको अजरवैजानले युरो छनोटमा पहिलो अंक हासिल गरेको हो ।
समूह इ मा रहेको अजरबैजानले अहिलेसम्म चारै खेलमा पराजय ब्यहोरेको थियो । उसले पाँचौं खेलमा एक अंक जोड्न सफल भयो । यद्यपी उ समूहको अन्तिममै यथावत छ ।
पाँच खेलबाट १० अंक पुर्याएको क्रोएसिया पनि शीर्ष स्थानमा छ । एक खेल कम खेलेको हंगेरीको ९ अंक छ ।
बाकुस्थित बाकसेल एरिनामा पहिलो हाफमा क्रोएसियाले अग्रता लिएको थियो । ११ औं मिनेटमा कप्तान लुका मोड्रिचले पेनाल्टीमा गोल गरेका थिए ।
दोस्रो हाफमा बल पोजिसन नियन्त्रणमा राखेको घरेलु टोलीका लागि ताम्किन खालिलजादेले बराबरी गोल फर्काए । उनले रामिल सेदायवको पास सदुपयोग गरी पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरेका हुन् ।
दोस्रो हाफमा अजरवैजानले गोलका अन्य केहि अवसर पनि खेर फालेको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय