युरोकप २०२० का लागि छनोट अन्तर्गत शनिबार राति भएका खेलहरुमा इंग्ल्यान्ड, युक्रेन र आइसल्यान्डले सहज जित निकालेका छन् । इंग्ल्यान्डले बुल्गेरिया, युक्रेनले लिथुवानिया र आइसल्यान्डले माल्दोभाबिरुद्ध जित निकालेको हो ।
समूह ए अनतर्गत घरेलु मैदान वेम्वली रंगशालामा कमजोर बुल्गेरियामाथि एकछत्र हावी भएको इंग्ल्यान्डले ४-० गोलअन्तरको जित निकाल्दा उसका मुख्य स्ट्राइकर ह्यारी केनले ह्याट्रिक पूरा गरे ।
२४ औं मिनेटमा रहिम स्टर्लिङको पास सदुपयोग गरी पहिलो गोल गरेका केनले दोस्रो हाफको चौथो मिनेटमै पेनाल्टीमार्फत अर्को गोल थपे ।
५५ औं मिनेटमा स्टर्लिङले टिमका लागि तेस्रो गोल गर्दा केनले पास उपलब्ध गराएका थिए । ७३ औं मिनेटमा इंग्ल्यान्डले अर्को पेनाल्टी पायो । यसमा पनि केनले गोल गरे र ह्याट्रिक पूरा गरे ।
जितसँगै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको छ । तीन खेलबाट उसले शतप्रतिशत जितसहित ९ अंक हासिल गरेको छ । यस समूहमा कोसोभोको ८ अंक छ ।
लिथुवानियामाथि ३–० को जित हासिल गरेपछि युक्रेनले समूह बीको शीर्ष स्थानमा ९ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।
५ खेलबाट उसको १३ अंक भएको छ भने ४ खेल खेलेको लक्जेम्वर्ग ४ अंकसहित दोस्रो स्थानमा छ ।
लिथुवानियाको घरेलु मैदानमा युक्रेनका अलेक्सान्दर जिन्चेन्कोले सातौं मिनेटमा गोल गरी अग्रता बनाएका थिए ।
२७औं मिनेटमा मार्लोसले गोल गरेपछि पहिलो हाफमा युक्रेनले २–०को अग्रता बनायो । ६१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि युक्रेनले सहज जित भेट्टायो ।
माल्दोभालाई ३–० गोलअन्तरले पराजित गरी आइसल्यान्ड पनि समूह एचको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलबाट उसको १२ अंक भएको छ ।
घरेलु मैदानमा आइसल्यान्डले माल्दोभालाई दवावमा राख्न सफल भयो । कोल्विन सिपोर्सनले ३१ औं मिनेटमा गोल गरेपछि आइसल्यान्डले पहिलो हाफमा अग्रता बनाएको थियो ।
५५औं मिनेटमा विर्किर जोर्नासन र ७७ औं मिनेटमा जोन बोभार्सनले गोल गरेपछि आइसल्यान्डले जित निकाल्न सक्यो ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय