हिमाल दैनिक
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैँ, दीपावली, नेपाल सम्वत, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले नेपालीको महान् पर्वमा उपत्यकाबाट लाखौँ मानिस चाड मनाउन आ–आफ्नो घर फर्कने भएकाले हुनसक्ने आपराधिक घटना, चोरी लगायत नियन्त्रण गर्न निर्देशन दिएको हो । लामा, छोटा दूरीका सवारीमा सरकारले तोकेभन्दा बढी भाडा लिए कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । सडकको अवस्थाका बारेमा बेलैमा ध्यान दिई सवारी दुर्घटनालगायत हुनसक्ने घटना नहुने व्यवस्था मिलाउन सरोकार भएका निकायसँग समन्वय गरी काम गर्न पनि समितिले भनेको छ । भारतमा काम गर्न जाने नेपालीले ल्याउने रु ५०० र रु १००० का नोट नचल्दा चाडबाडमा समस्या हुने भएकाले साट्ने व्यवस्था मिलाउन पनि सरोकार भएका निकायलाई निर्देशन दिइएको सभापति श्रेष्ठले बताईन। बैठकमा गृहमन्त्री रामबहादुर थापाले चाडबाडका समयमा देशैभरको शान्ति सुरक्षा सृदृढ गराइने बताए । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालय चुस्त रहेको पनि उनको भनाई छ । बैठकमा उपस्थित गृहसचिव प्रेमकुमार राईले चाडपर्वका बेला सवारी साधनमा हुने हिंसा र लुटपाटका घटनालाई न्युनिकरण गर्न तयार रहेको बताए। उनले पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नेपालमा नचल्ने भएकाले त्यस्ता नोटबारे के गर्ने भन्नेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले अझै प्रष्ट नपार्दा समस्या भएको बताए।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update