हिमाल दैनिक
बाँके घटनाबारेमा संसदमा नेकपाका सांसद क्षेत्रीले ‘दिउँसै रात’ पार्न खोजेपछि...
edit-01
बाँकेको सीतापुर घटनाको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले नन्दलाल रोका क्षेत्रीले तोडमोड गर्दै ढाकछोप गरेपछि प्रतिनिधि सभाको सोमबारको बैठक पुनः अबरुद्ध हुन पुगेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेदेखि सुरु गरेको देशव्यापी दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा गत बिहीबार सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गरेको विषयमा आइतबार अबरुद्ध संसद सोमबार सुचारु भएपछि सत्तापक्षकै सांसदले वातावरण विथोल्न पुगे। घटनाकोबारेमा सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको माग गर्दै कांग्रेस सचेत पुष्पा भुषालले आजको बैठक अघि बढ्ने सन्देश दिएकी थिइन्। त्यसलगत्तै नेकपाका तर्फबाट बाँके ३ बाट निर्वाचित क्षेत्रीले समय माग्दै उठेर बोल्ने क्रममा सीतापुरको घटनाको विषयमा वास्तविकता भन्दा फरक ढंगले कांग्रेसले बबाल मच्चाएर आन्दोलनका धम्की दिन्छ भने आफ्नो पार्टी पनि आन्दोलन गर्न तयार रहेको धम्की दिए। उनले भुवनसिंह थापाको फेसबुकबाट अस्लाम भाट भन्ने व्यक्तिले जथाभावी म्यासेज सार्वजनिक गरेको विषयमा भुवनको समर्थनमा चारजना केटाहरु कार्यक्रममा गएको र त्यी मध्ये एक जना बाहिर बसेर बाँकी तीन जना भित्र गएको भन्दै कसेले पनि त्यहाँ हातपात नगरेको दाबी गरे। ‘कसैले पनि त्यहाँ हातपात गरेको छैन, हात पात गर्न दिने त कुरा पनि भएन। करिब डेढ दुई सयको जमघटमा त्यी तीन जना केटाकेटीले हातपात गर्न सक्दैनन्। त्यहाँ कुनै पनि घटना घटेको छैन र कसैले कसैलाई छोएकै छैन,’ क्षेत्रीले यसरी घटनाको विषयमा ढाकछोप गरेपछि कांग्रेस सांसदहरु आक्रोसित हुँदै सदनमा होहल्ला मच्चाए। उनले तीन जना केटा कांग्रेसको कार्यक्रममा जानु गल्ती भएको भनि आफ्नो पार्टीले रियलाइज गरेर विज्ञप्ति निकालेको बताए। जब कि उक्त कार्यक्रमस्थलको लाइभ भिडियोमा वक्ताले बोलिरहेकैबीचमा नेकपाका कार्यकर्ता भित्र पसेर होहल्ला गरेपछि कार्यक्रम विथोलिएको थियो। सांसद क्षेत्रीले परस्पर बाझिने अभिव्यक्ति दिँदै भने, ‘त्यहाँ केही पनि भएको छैन।’ यदि केही पनि भएको थिएन भने उनको पार्टीले केही नभएकोे विषयमा गल्ती महसुस गरी विज्ञप्ति किन निकाल्नु पर्यो र सुरक्षाकर्मीले जिल्ला सभापति किरण कोइरालालाई स्कटिङ गरी पार्टी कार्यालयमा पुर्याउनु पर्यो भन्ने केही बताएका छैनन्। त्यतिमात्र होइन सांसद क्षेत्रीले जिल्ला सभापति कोइरालाको हातमा गम्भिर चोट लागेर प्लाष्टर गरेको कुरा समेत झुट भएको संकेत दिँदै भने, ‘त्यतिबेला सभापतिज्यू तपाइलाई केही भयो कि भन्दा केही भएको छैन बाबु मलाइ ठिक छ तपाइ जानुहोस् धन्यवाद भनि इन्स्पेक्टरलाई पठाएको छ।’ जब कि सभापति कोइरालाले कार्यक्रमस्थलमै आफ्नो हातमा त्यी केटाहरुमध्ये एकले हानेको भन्दै हात देखाइरहेको भिडियोमा प्रष्ट देख्न सकिन्छ। त्यतिबेला उनले बोल्दै गर्दा समेत त्यी केटाहरुले कार्यक्रमस्थलमा भएको होहल्ला र तनावपूर्ण अवस्थाकोबारेमा भिडियो नखिच्न धम्क्याइरहेको दृष्य देख्न सकिन्छ। कोइरालाका परिवारजनले कार्यक्रम पश्चात हात दुखेको भनि जानकारी पाएपछि नजिकैको स्वास्थ्य संस्थामा लगेर एक्स्रे गराउँदा नाडीमा फ्याक्चर भएको र पाँच हप्तासम्म प्लाष्टर खोल्न नमिल्नेगरी आराम गर्न चिकित्सकले सुझाव दिएको पारिवारिक स्रोतले बतायो। संसदमा पटक पटक सांसद क्षेत्रीले तीन जना केटाहरु गएर गल्ती गरेको बताउँदै त्यस घटनामा परोक्षरुपले संलग्न र योजनाकारको रुपमा आरोपित वडाअध्यक्ष सुमन मल्ल बेकसुर भएको र उनीमाथि मुद्दा लगाउने र कारबाही हुने कुरा आफ्नो पार्टीले सहन नसक्ने धम्की दिए। ‘यदि नेपाली कांग्रेसले आन्दोलनले आन्दोलन नै गर्छ भने हामी पनि आन्दोलन गर्छौँ। आन्दोलन किन नगर्ने? हामी सत्य कुरामात्रै स्वीकार्छौँ असत्य कुरा कुनै हालतमा पनि स्वीकार्दैनौँ। समिति गठन गरी छानविन विना कारबाही स्वीकार्य छैन,’ उनले भने।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update