हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारको अपरिपक्व र बचकना परराष्ट्र नीतिका कारण नेपाल र नेपालीको अस्थित्वमाथि नै गभ्भीर चुनौति खडा भएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद सिंहले सरकारसमक्ष प्रश्ने गरे, ‘हाम्रो परराष्ट्र नीति के हो? अहिलेको यो सरकारको कारणले अपरिपक्व र बचकना परराष्ट्र नीतिको कारणले नेपाल रहन्छ कि रहन्दैन र हामी नेपाली रहन्छौँ कि रहँदैनौँ भन्ने चुनौति खडा भएको छ।’ पछिल्लो समय देखिएका तीनवटा विषयप्रति चर्चा गर्दै उनले अमेरिकन नेतृत्वमा अघि सारिएको इण्डो प्यासिफिक एलाइन्स र चीनको अग्रसरतामा अघि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआइ) दुबै रणनीतिक महत्वका परियोजना भएको बताए। यस्ता गम्भीर विषयमा सरकारले बृहत राष्ट्रिय सहमति कायम गरेर नेपालको संविधान र कानून बमोजिम आफ्नो स्पष्ट असंलग्न परराष्ट्र नीति र सिद्धान्त र कसैको पनि आन्तरिक मामिलामा अहस्तक्षेपकारी भूमिका सबैको सम्मान र सहयोगको मान्यता अनुरुप चल्नु पर्ने सुझाव उनले दिए। ‘त्यसको विपरित हालै छापामा आइरहेको कुराबारे सरकारको धारणा के हो? यस सदनसमक्ष स्पष्ट धारणा आउनु पर्छ,’ सिंहले भने। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ंका द्धितीय अध्यक्ष पुष्पकमल दाहालले हालै चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा नेपाल इण्डो प्यासिफिकको पार्टमा भनेको भएपनि त्यो भन्दा पहिले पेण्टागनबाट प्रकाशित रिपोर्ट नेपाल इण्डो प्यासिफिक एलाइन्सको पार्ट भएको उल्लेख गरिएको उनले बताए। ‘परराष्ट्रमन्त्रीको भ्रमणलाई कोर्ट गरेर लेखिएको यो रिपोर्ट पेन्टागन अर्थात अमेरिकाको डिफेन्स मिनिष्ट्री हो,’ उनले भने। यदि नेपाल इण्डो प्यासिफिक एलाइन्सको सदस्य होइन भने चीनको नेतृत्वमा रहेको बिराइको पार्ट हो कि होइन त्यसको जवाफ दिन पनि सरकारसँग माग गरे। ‘नेपाल के कारण बिराइको पार्ट हो? त्यो प्रष्ट हुनु पर्यो। साथसाथै हामी दुइटा छिमेककीको मित्रका रुपमा बीचमा बसिरहेका छौँ। दुइटा छिमेकीलाई समान व्यवहार गरेन भने त्यसको शिकार पनि हामी कहि न कहि हुन्छौँ,’ उनले भने। विगतमा नेपाली पुर्खाले भयानक युद्ध र शीतयुद्धको समयमा विश्व नै दुई ध्रुवमा विभाजित हुँदा पनि असंलग्न विदेश नीति र सिद्धान्तमा अडिग रहँदै कसैको पक्षमा नलागेको नेपाल पछिल्लो समय धर्मराएको आरोप लगाए। भारत र चीनका विदेश मन्त्रीले हालै गरेको नेपाल भ्रमणका समयमा पनि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले उत्तर र दक्षिणको छिमेकीप्रति समान व्यवहार देखाउन नसकेको आरोप उनले लगाए।र ‘भर्खरै दुइटा परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा एउटा परराष्ट्रमन्त्रीलाई रिसिभ गर्न परराष्ट्र सचिव जान्छ अर्कोलाई मन्त्री जान्छ,’ यो के हो भनि उनले प्रश्न गरे। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा बिचमा एउटा कुर्सी राखेर अलि टाढै बसेको र चिनिया विदेश मन्त्री वाङ लीसँग भने आमने सामने भएर गरेको भेटप्रति पनि सिंहले आपत्ति प्रकट गरे। ‘एउटा परराष्ट्र मन्त्रीले प्रधानमन्त्रीसँग भेट्दा सवोर्डिनेट जस्तै भएर आमनेसामने राजा र रैयत जस्तै अर्को परराष्ट्रमन्त्रीसँग समान रुपमा राखिएको कुर्सीमा भेट्छ। के प्रधानमन्त्री र परराष्ट्रमन्त्री समान हैसियतमा भेट्न प्रोटोकलले मिल्छ?,’ उनले भने। त्यसैगरी सत्तारुढ दल नेकपाका द्धितीय अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्रीको हैसियतमा आफूले कुनै पनि विदेशमन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भनि भारतीय विदेशमन्त्रीसँग नभेट्ने तर त्यसको केही हप्तापछि चिनियाँ विदेशमन्त्रीलाई होटलमै गएर भेटेको फोटो सार्वजनिक गरेको विषयमा पनि उनले प्रश्न उठाए। ‘फोटोमात्रै सार्वजनिक भएको भए त केही हुने थिएन उहाँको कुरा जुन आएको छ र जसको कारण मिडियामा आम जनताको चासोको विषय बनेको छ र हामी संसदको पनि कन्सर्नको विषय बनेको छ कि त्यो के हो? उहाँको धारणा के हो सरकारले स्पष्ट पार्नु पर्यो,’ उनले भने। दुई दिन पहिले पेट्रोलिय पाइपलाइनको उद्घाटन गर्ने क्रममा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका लागि नेपाली राजदूतलाई छेउमै राखेको तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपालका लागि भारतीय राजदूतलाई पछाडि राखेको प्रसंग उल्लेख गर्दै भने, ‘के यहि हो समानता?’ संविधानले नेपालको असंलग्न परराष्ट्र नीति त्यसमा समानता र सहअस्थित्वको आधारमा आपसी सहयोग र समर्थनको कुरा उल्लेख भएपनि सरकारले त्यस विपरित जाने काम गरेको आरोप पनि उनले लगाएए। ‘विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरी न कि सरकारको गलत र बच्कना परराष्ट्र नीतिको कारण नेपालको अस्थित्व खतरामा पार्ने काम होस्। नेपाल र नेपालीको अस्थित्व कायम गरौँ कसैको लहैलहैमा लागेर ‘याम भेटे यामै हुने राम भेटे रामै हुने तर नेपाली कहिल्यै नहुने’ तरिकाले यहाँको परराष्ट्र नीति चलिरहेको छ,’ उनले भने।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update