काठमाडौँका सरकारी जग्गाको छानबिन तथा खोजी गर्न २०४९ सालमा नै रामबहादुर रावलको संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद त्रिपाठीलले माग गरे ।
काठमाडौँको कूल १८ हजार ९४० रोपनी जग्गा अतिक्रमण भएको भन्दै तत्कालीन सरकारले सत्यतथ्य पत्ता लगाउन गठन गरिएको उक्त आयोगले २०५१ सालमा बुझाएको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । सांसद त्रिपाठीले उच्च सरकारी कर्मचारी, जग्गा अतिक्रमणकारी तथा केही राजनीतिक नेतृत्वसमेतले सो प्रतिवेदन सार्वजनिक नहोस् भनेर दबाब दिइरहेको आफ्नो जानकारीमा आएको उल्लेख गरे ।
“सो प्रतिवेदन सार्वजनिक भए काठमाडौँ उपत्यकाको सार्वजनिक जग्गाको अवस्था पत्ता लाग्छ । अतिक्रमित जग्गा सार्वजनिक हुन लागेकामा चौतर्फी दबाब दिएर गुपचुप राखिएको छ । सरकारले यसतर्फ विशेष ध्यान देओस्”, उनले भने । सांसद त्रिपाठीले तराई मधेश आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनसमेत सार्वजनिक गर्न माग गरे ।
सांसद विनोद चौधरीले कर लगाउने नयाँ नयाँ उपाय खोजी गर्नु सरकारको बाध्यता भएको तर त्यस्ता करलाई विकास निर्माण र उत्पादनको क्षेत्रसँग जोड्न आग्रह गरे । उनले सरकारले स्थापना गरेको विशेष आर्थिक क्षेत्रमा एउटा मात्रै उद्योग खुलेकाले त्यस विषयमा अनुगमन गरी उद्योगी तथा व्यवसायीलाई थप सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय