जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गरेका छन् ।
जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो ।
विश्वभरबाट निम्त्याइएका करिब दुई हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो ।
सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै बर्ष मे महिनामा जापानको सम्राट बनेका थिए । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो ।
जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा (राजगद्दी)मा बसेका थिए । त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरे ।
“राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिएको छु ।”
सम्राट अकिहितोले आफ्नो ३० बर्ष राजगद्दिमा रहँदा सँधै जापानी जनता र विश्व शान्तिका लागि प्रार्थना गरेको बताए । सम्राट अकिहितोले जनताको दुःख तथा सुखमा सधैँ सँग रहने गरेको भन्दै अकिहितोको प्रसंशा गरे ।
सम्राट नारूहितोले सम्वोधनमा भने, “यस अवसरमा मैले जापानी संविधानअनुसार राज्यको प्रतीक र जापानी जनताको एकताका लागि मेरो जिम्मेवारीलाई पूरा गर्ने सपथ खान्छु ।”
उनले भने, “जनताको खुसी र विश्वमा शान्तिका लागि सधैँ प्रार्थना गर्दै जापानी जनताको विचारप्रति वफादार रहेर उनीहरूको पक्षमा काम गर्ने अठोट प्रकटसमेत यस शुभ–अवसरमा गर्न चाहन्छु ।”
उनले सम्वोधनको अन्त्यमा समस्त मानवजातीको शान्ति र समृद्धिको प्रार्थनासमेत गरेका थिए ।
सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको जापानी परम्परागत पहिरनमा सम्राटसँगै रहेको अर्को आसनमा बसेकी थिइन् । उनले लगाएको उक्त वस्त्रमा १२ पत्र रहने जापानी अधिकारीहरूलाई उद्धृत गरी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले सम्राट नारूहितोको राज्य आरोहणप्रति खुशी व्यक्त गर्नुभएको थियो भनेसम्राटको दिर्घायूका लागि समारोहका सहभागी सवैले प्रार्थना गरेका थिए ।
प्रधानमन्त्री शिन्जो आबेले समारोहमा सम्राटलाई बधाई ज्ञापनसमेत गरेका थिए ।
मङ्गलबार नै सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गरेका थिए । त्यसपछि प्रधानमन्त्री आवेले सबै अतिथिहरूका लागि रात्रिभोजको आयोजना गरेका थिए ।
संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलङ्कारिक रहन्छ । उनले नागरिकहरूसँग अन्तक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्ने छन्।
जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ ।(रासस÷सिन्ह्वा)
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय