हिमाल दैनिक
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
indonesia earthquake
इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा सुनामी आउने सम्भावना नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयानुसार बिहान करिब ८.४५ बजे भूकम्प आएलगत्तै मानिसहरु आत्तिएर घरबाहिर निस्केका थिए । स्थानीयबासीका अनुसार भूकम्पका कारण घरहरु निकै जोडसँग हल्लिएका थिए । करिब चार लाख मानिसको बसोबास रहेको आम्बोन शहरमा घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ । टेलिभिजन फुटेजहरुमा घरका पर्खालहरु भत्किएको र मानिसहरु उपचारका लागि भौंतारिरहेको देखिएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको थियो । इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५.६ म्याग्नीच्यूडको पनि गएको बताए ।(रासस-एएफपी) 
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update