हिमाल दैनिक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएकामा आफू अत्यन्त खुसी रहेको बताए। मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि नयाँ दिल्लीबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उनले भने, “म अत्यन्त खुसी छु, दुवै मुलुकको संयुक्त प्रयासमा परियोजना सम्पन्न भएको छ ।” भारत र नेपालबीच सदियौँदेखि जनस्तरमा पारिवारिक र सांस्कृतिक सम्बन्ध रहेको औँल्याउँदै उनले नेपालको विकास प्रयासमा भारतको सधैँ साथ र सहयोग रहने बताए । “दुई देशका जनता जनताबीचको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधारका रुपमा रहेको छ”, उनले भने। नेपालको उच्च राजनीतिक नेतृत्वसँग आफू बारम्बार संवादका क्रममा रहेको स्मरण गर्दै उनले पछिल्लो डेढ वर्षमा आफूले चार पटक नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गरेको बताए । भारत र नेपालको समृद्धिका लागि परस्पर हितका आधारमा साझेदारी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुवै मुलुकलाई लाभ हुने गरी विकासका नयाँ नयाँ क्षेत्रमा समझदारी गरिएको बताए । दुवै मुलुकका सरकारको उच्च प्राथमिकतामा रहेकाले सो परियोजना तोकिएको समयमै सम्पन्न भएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमण गर्न आउनेसमेत बताए।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update