हिमाल दैनिक
बङ्गलादेशसँगको बाईस वर्षे व्यापार: नेपाल नाफामा
Nepal_Bangaladesh_Flag
सबैभन्दा नजीकको तेस्रो मुलुक बङ्गलादेशसँगको व्यापार सन्तुलनमा पाँच वर्षयता निरन्तर घाटा व्यहोर्नु परे पनि पारवहन मार्ग खुलेयताको २२ वर्षमा भने नाफा नै भएको छ । विसं २०५४ भदौ १४ गते नेपाल र बङ्गलादेशबीच पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्ध जोड्ने ५४ किलोमिटर लामो स्थल पारवहन मार्गको प्रयोग शुरु भएको थियो । त्यसयताको २२ वर्षमा नेपालले बङ्गलादेशसँगको व्यापार सन्तुलनमा रु चार अर्ब ४६ करोड १९ लाख ५२ हजार ४६१ नाफा गरेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले जनाएको छ । काँकडभिट्टास्थित कम्पनीको कार्यालयका सूचना अधिकारी विजय भट्टराईका अनुसार आव २०५४÷५५ देखि २०७५÷७६ सम्ममा नेपालले सो पारवहन मार्ग भएर रु ३१ अर्ब ३० करोड ५५ लाख ६९ हजार ८३७ मूल्य बराबरको नेपाली मालसामान बङ्गलादेश निर्यात गरेको छ । सोही अवधिमा बङ्गलादेशबाट रु २६ अर्ब ८४ करोड ३६ लाख १६ हजार ३६७ मूल्य बराबरको मालसामान नेपालमा आयात भएको पाइएको छ । समग्र २२ वर्षमा व्यापारको अवस्था नाफादायी भए तापनि पछिल्लो पाँच वर्षदेखि नेपालको निर्यात बढ्न नसक्दा व्यापारको अवस्था निरन्तर घाटाजनक रहेको छ । नेपालले बङ्गलादेशसँग अहिलेसम्मको व्यापारमा १० आर्थिक वर्षमा नाफा र १२ वटा आर्थिक वर्षमा घाटा गरेको छ । आव २०५४÷५५ देखि २०५९÷६० सम्मको छ वर्षमध्ये आव २०५७÷५८ को व्यापारमा मात्र रु पाँच करोड २९ लाख १० हजार ३८७ नाफा भएको देखिन्छ । अरू वर्ष घाटैघाटा भएका छन् । आव २०६३÷६४ देखि बङ्गलादेशबाट आयातभन्दा नेपालबाट निर्यात धेरै हुन थालेको हो । त्यसयता आव २०७०÷७१ सम्मको व्यापार सन्तुलनमा निरन्तर आठ वर्ष नेपालले नाफा गरेको छ । आव २०७१÷७२ यता हालसम्म नै निर्यातभन्दा आयात बढी रहेको अवस्था छ । नेपालको निर्यात बढेको अवस्थामा आव २०६५÷६६ मा नेपालले रु चार अर्ब ७९ करोड ५७ लाख ५० हजार ५८ बराबरको व्यापार नाफा गरेको थियो । यो नै विगत २२ वर्षे व्यापार यात्रामा सबैभन्दा बढी व्यापार नाफा गरेको वर्ष थियो । अहिले भने व्यापार घाटा बढिरहेको छ । गत आव २०७५÷७६ मा नेपालले रु दुई अर्ब ४१ करोड ३० लाख ३५ हजार ६८० को व्यापार घाटा व्यहोरेको छ । बङ्गलादेशको बजार भौगोलिक रुपमा नजीक भएको कारण नेपालका उत्पादनहरु छिटो पु¥याउन र त्यसबाट लाभ पाउन सकिन्छ भनेर नै नेपालले काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गको प्रस्ताव भारत र बङ्गलादेश सरकारसँग गरेको थियो । दुवै छिमेकी मुलुकले नेपालको प्रस्ताव मञ्जुर गरेका थिए । विसं २०५४ भदौ १४ गते पारवहन मार्गको काँकडभिट्टामा भव्य उद्घाटन भएपछि सो आर्थिक वर्षभरिमा नेपालबाट रु ११ लाख ५७ हजार ७६० बराबरको मालसामान मात्र बङ्गलादेश पठाइएको थियो । शुरुकै आर्थिक वर्षमा उता बङ्गलादेशबाट रु एक करोड ३१ लाख २६ हजार २७४ मूल्य बराबरको सामान आयात भएको थियो । व्यापार घाटा पहिलो वर्षबाटै शुरु भएको थियो । नेपालले आव २०७५÷७६ मा बङ्गलादेशतर्फ मुसुरो दाल, अम्लिसो कुचो, कत्था, प्लाइउड, पिना, टमाटर, फलफूल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोज लगायतका १७ प्रकारका मालसामान निर्यात गरेको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा नेपालले बङ्गलादेशबाट १५१ प्रकारका मालवस्तु आयात गरेको देखिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताए । बङ्गलादेशबाट सबैभन्दा बढी मात्रामा हलुका पेय पदार्थजन्य वस्तु आयात हुने गरेको छ । दर्जनभन्दा बढी प्रकारका हलुका पेय पदार्थ नेपालमा आउने गरेका कारण नेपाली उत्पादन मारमा परेको समेत नेपाली व्यवसायीहरुको गुनासो रहँदै आएको छ । बङ्गलादेशबाट सोलार उपकरण, रनर, मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलुचिप्स, चकलेट, कमोड, नेप्किन, पानीका बोतल, ब्याट्री, औषधि, केमिकल, स्पेयर पार्टस, नरिबल तेललगायतका सामान आयात हुने गरेको छ । यसमा सबैभन्दा बढी जुस र लत्ताकपडाका प्रकार रहेका छन् । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिना बङ्गलादेशसँगको व्यापार सहजीकरणमा नेपाल सरकारको पर्याप्त ध्यान पुग्न नसकेको बताउछन् । बङ्गलादेश निर्यात हुने वस्तुको कर हटाउन वा घटाउन नेपाल सरकारले बङ्गलादेश सरकारलाई मनाउन सक्यो भने व्यापारको अवस्था चाँडै सुध्रिने उनको धारणा छ । “भूटानलाई दिएजति भन्सार सहुलियत पनि नेपालले पाउन सकेको छैन”, नेपाल बङ्गलादेश चेम्बर अफ ट्र«ेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन भन्छन , “नेपाल सरकारले बङ्गलादेश सरकारलाई भन्सार सहुलियतका लागि औपचारिक आग्रह गरिदिने हो भने नेपालले लाभ पाउने सम्भावना छ ।” जैनका अनुसार नेपाली कृषि उत्पादन मात्र नभएर जडीबुटी र ढुङ्गाको बङ्गलादेशमा ठूलो माग छ । नेपाली अलैँची, अदुवा, सुन्तला, चिराइतो, अम्लिसो, चियालगायतका वस्तु बङ्गलादेशमा जति पु-याए पनि बजार र मूल्य दुवै सहजै पाउने निहाँ बताउछन् । नेपालभन्दा सानो भूभाग रहेको बङ्गलादेशको जनसङ्ख्या भने नेपालको भन्दा चौब्बर भएको हुँदा नेपाली उत्पादनहरु सजिलै त्यहाँ प-याउन सक्दा नेपालको व्यापार उकालो लाग्ने निश्चित छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update