हिमाल दैनिक
सामाजिक सुरक्षा कोषको समयावधि एक महिना थप
gokarna bista
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ ।श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी कोषमा सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप गर्ने जानकारी दिएको हो । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो । सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्नगई लामो सार्वजनिक विदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गर्न लागिएको मन्त्रायले जनाएको छ । हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको कोषले जानकारी दिएको छ । उक्त सुचिकृत रोजगारदाताबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ । गत वर्ष साउन १ गतेदेखि औपचारिक रुपमा सञ्चालन गरेको कोषले अहिलेसम्म ३ पटक रोजगारदाता कम्पनी र श्रमिकलाई सूचीकरणका लागि आह्वान गरिसकेको छ । पत्रकार सम्मेनलमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सामाजिक सुरक्षा कोष अन्यदेशमा यसअघि नै लागू भइसकेको भन्दै नेपालमा पनि अनिवार्य गरिएको बताए । उनले तोकिएको समयभित्र पनि कोषमा आवद्ध नभए कारवाही हुने चेतावनी पनि दिए । कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । कोषले योगदानकर्तालाई शैक्षिक र घर कर्जा पनि व्यवस्था गरेको छ
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update