हिमाल दैनिक
दशैँ आउनु एक महीनाअघि देखि नै हवाईजहाजको टिकट बुकिङ हुन्छ । यात्रुलाई घटस्थापनापछिका दिनमा धेरै टिकट चाहिन्छ । टिकट पाउन मुस्किल हुन्छ । पहिल्यै टिकट बुकिङ सकिएको हुन्छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले दशैँको हवाई टिकट सबै सकिएको जनाएको छ । यो समय उडान हुने प्रायः सबै गन्तव्यमा हवाई यात्रुको चाप छ । यतिले आफ्ना पाँच एटिआर र पाँच साना गरी १० तथा भगिनी संस्था तारा एयरका छ जहाजबाट आन्तरिक उडान भर्दै आएको छ । भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत गन्तव्यमा हवाईजहाजको टिकट सकिएको छ । अरू बेला पनि व्यस्त रहने यी गन्तव्यमा दशैँका बेला हरेक वर्ष हवाई यात्रुको चाप हुने गर्छ । निजी क्षेत्रको अर्को ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पनि दशैँका लागि अधिकांश गन्तव्यमा टिकट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका अनुसार तुम्लिङ्टार र सुर्खेत गन्तव्यमा एक साताअघि नै बुकिङ पूरा भइसकेको छ भने बाँकी गन्तव्यमा ९० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरसँग आन्तरिक उडानमा रहेका १३ जहाजमध्ये ११ एटिआर र दुई साना जहाज छन् । आन्तरिक उडानको प्रतिस्पर्धी कम्पनी श्री एयरलाइन्सको पनि दशैँका लागि टिकट सकिएको छ । कम्पनीसँग आन्तरिक उडानका लागि ७० सिट क्षमताका दुई तथा ५० सिट क्षमताका दुई जहाज छन् । त्यस्तै आन्तरिक उडानका सौर्य, सीता र सिम्रिक एयरलाइन्सको पनि दशैँका लागि टिकट बुकिङ सकिएको छ । दशैँमा यात्रुको अत्यधिक चाप बढेकाले उडान व्यवस्थापन तथा थप विस्तार गर्न लागिपरेको हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन नेपाल वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले पछिल्लो थानकोट–नागढुङ्गा सडक जामका कारण वायुसेवा कम्पनीलाई असाध्यै दबाब परेको भन्दै विमान कम्पनीले गन्तव्यमा उडान सङ्ख्या थप्ने तयारी गरेको छ । दशैँलाई लक्ष्य गरी अहिले सबै वायुसेवा प्रदायक कम्पनीको नियमित उडानमा शत्प्रतिशत टिकट बुकिङ भइसकेको छ । यात्रुको चापलाई मध्यनजर गर्दै उडान सङ्ख्या वृद्धि गरिने जनाइएको छ । सङ्घका अनुसार आन्तरिक उडानमा १० हेलिकोप्टर कम्पनीसहित १८ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । बुद्धएयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स, समिट एयर र तारा एयरले आन्तरिक उडान भर्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update