हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि अतिक्रमणसँगै संविधान र कानूनी प्रावधानको उलंघन गर्दै राष्ट्रिय जनावर गाईलाई मासुजन्य पशुको सूचिमा राख्ने सरकारले आम जनतालाई भने विगत ७ महिनादेखि क्वारेन्टाइन चेकजाँचवीनाकै अस्वस्थ मासु खान बाध्य बनाइरहेको छ।
त्यहि चेकजाँचवीना अवैध र चोरी गरी नेपाल भित्र्याइँदै आएका स्वस्थ र अस्वस्थ राँगा र भैसीको ढुवानी पनि हिन्दुहरुको महान चाड दशैंको सुरुवातसँगै बन्द हुने भएको छ।
देशभरी पशुपंक्षी ढुवानी गर्ने एकमात्र संस्था नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले विगत सात महिनादेखि हचुवाका भरमा बन्द भएको क्वारेन्टाइन चेकजाँच पुनःसुचारु गर्न पटक पटक गरेको आग्रहप्रति सरकार गम्भीर नभएको भन्दै असोज ११ गतेदेखि मासुजन्य पशुपंक्षी ढुवानी बन्द गर्ने घोषणा गरेको हो।
संघका कार्यालय प्रमुख आत्मराम पौडेलका अनुसार, संघले हालै १८ बुँदे मागपत्रसहितको निर्णय पशु स्वास्थ्य विभाग, कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमाललाई बुझाएको छ।
उक्त माग पत्रमा यदि सरकारले आफूहरुको माग तत्काल सम्बोधन नगरे आफूहरु दशैंको घटस्थापना सुरु हुनु अगावै असोज ११ गतेदेखि राँगा, भैंसी ओसार, पसार तथा ढुवानी कार्य बन्द गर्ने निर्णय गरिएको छ।
गत फागुन ६ गतेदेखि पशु सेवा विभागका कर्मचारीको मौखिक आदेशमा नेपाल र भारतका सीमास्थित नाकामा रहेका पशु चिकित्सकहरुले भारतबाट आयात हुने राँगा र भैंसीको क्वारेन्टाइन चेक जाँच बन्द गरेपछि नेपालमा दैनिक उपभोग हुने करिब १४ हजार राँगा, भैंसीमध्ये १० हजारको संख्यामा भारतीय बजारबाट अबैध रुपमा आपूर्ति हुँदै आएको छ।
फलस्वरुप विगत ७ महिनाको अवधिमा राज्यको कोषमा पशु आयात कर स्वरुप जम्मा हुने कर एक रुपैयाँ पनि संकलन हुन सकेको छैन। तर, काठमाडौं उपत्यका लगायत देशका विभिन्न बजारमा भने क्वारेन्टाइन चेकजाँचवीना तस्करी गरी ल्याइएका राँगा र भैंसीको मासु विक्री वितरण भइरहेको छ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय