नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको कालापानी र लिम्पियाधुरा नेपालकै अविभाज्य भूभाव भएको भन्दै यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताएका छन्।
कांग्रेस निकट शिक्षकहरुको संस्था नेपाल शिक्षक संघको शुक्रबार हुने ७ नम्बर प्रदेश सभा स्तरिय भेलालाई सम्बोधन गर्न बिहीबार कैलालीको धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा यस्तो धारणा राखेका थिए।
उनले महाकाली सन्धीकै बेलामा पनि नेपाल र भारतको सीमानामा रहेको महाकाली नदी दुबै देशको साझा नदी भएको र यसको पानी आधा आधा हो भन्ने कुरा स्वीकार दुबै देशले गरिसकेको बताउँदै महाकाली नदी वारीको भूभाग नेपालको भएको स्पष्ट पारे।
चीन, भारत र नेपालको त्रिदेशीय सीमानामा रहेको लिपुलेक तीन देशको व्यापारिक नाका (ट्राइजङ्कसन) भएको बताउँदै उनले भने, ‘तर कालापानी र लिम्पियाधुरा हाम्रै भूमि हो यसमा विवाद जरुरी छैन।’
भारतीय पक्षले हालै काली नदीको मुख्य मुहान रहेको लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्मको भूभागलाई भारतीय भूमिको रुपमा रहेको नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसबारे चर्को विरोध हुँदै आएको छ।
उक्त विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यसबारे भारतीय पक्षले विवाद गर्न जरुरी नरहेको भन्दै सीमा विवाद तत्काल कुटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई सुझाव दिएका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय