हिमाल दैनिक
सरकारकै कारणले संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा छः शेखर कोइराला
73108067_3008494672513247_5902149800534474752_n
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा आएको संविधान, लोकतन्त्र र गणतन्त्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण खतरामा रहेको दाबी गरेका छन्। कांग्रेस निकट कानून व्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एशोशिएसन (डिएलए) प्रदेश नम्बर ५ ले बुटबलमा शुक्रबार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले भने, ‘संविधान, लोकतन्त्र र गणतन्त्र यदि खतरामा छ भने वर्तमान सरकार र यसको नेतृत्वबाट खतरा छ।’ वर्तमान सरकार र संसदले संविधानमा व्यवस्था भएको शक्ति पृथकिकरणको सिद्धान्तको मान्यतालाई लत्याएर स्वतन्त्र न्यायपालिकादेखि राज्यका संवैधानिक निकायहरुमाथि राजनीतिक नियन्त्रण गरी स्वतन्त्र र निश्पक्ष रुपमा चल्न नदिएको आरोप लगाए। न्यायलयमाथि राजनीतिक हस्तक्षेप र त्रासको वातावरण छाएको बताउँदै यसमा आफ्नै पार्टीले विगतमा सुशील कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेको कारण पनि अहिलेका न्यायाधीशहरु संसदबाट त्रसिद रहेको उनले बताए। यसैगरी अहिले स्वतन्त्र प्रेसमाथि सरकारले अनेक बहानामा कानून बनाएर नियन्त्रण गर्नेदेखि सेना परिचालनको विषयमा सुरक्षा परिषद ऐन संशोधन गरी मुलुकमा अधिनायकवाद लाद्ने कोशिश गरिरहेको अरोप पनि उनले लगाए। संघीयताको कार्यान्वयनको विषयमा चर्चा गर्दै संघीयताको अवधारणाबारे सुरुदेखि नै कांग्रेस र कम्युनिष्टहरु कसैले नरुचाएको र नचाहाँदा नचाहाँदै बाध्यताबस गएको बताउँदै संघीयताको कार्यान्वयन र सवलीकरणको पक्षमा जनवादी केन्द्रियतामा विश्वास गर्ने कम्युनिष्टबाट कुनै आशा गर्न नसकिने दाबी गरे। संविधानमा संघीयताको माध्यमबाट अधिकारको बाँडफाँट गर्ने भनिएपनि सरकारले सबै अधिकार केन्द्रिकृत गरी अघि बढ्ने योजना मुताविक अहिले सिडिओको अधिकार बढाउने तर्फ उद्दत भएकोमा आपत्ति प्रकट गरे। संविधान र संघीयताको सफल कार्यान्वयन र जनताको भावनाको कदर कोहीबाट हुनसक्छ भने त्यो लोकतान्त्रिक शासन पद्धतीमा विश्वास गर्ने कांग्रेसबाट मात्रै सम्भव भएको उनको भनाइ थियो। संघीयताको गलत अभ्यासका कारण जनतामाथि तीन तहले मनपरी कर थोपारेर जनतामाथि तिर्नै नसक्ने करको भारी बोकाउने काम भएको भन्दै यसले व्यवस्थामाथि नै जनविश्वास गुम्ने खतरा रहेको पनि उनले बताए। भ्रष्टाचारको विषयमा पनि सरकार र त्यसको नेतृत्वले अख्तियारदेखि न्यायलयसम्मका संवैधानिक निकायको अधिकार अतिक्रमण गरी आफैँले कुन विषयमा को दोषी हो को निर्दोष भनि प्रधानमन्त्रीले बोल्ने कार्य गलत भएको उनको तर्क थियो। टेलिकमको फोरजी, एनसेलको करछली, मेलाम्चीको ठेक्का जस्ता प्रकरणमा सरकारले त केही गरेको छैन यसमा कांग्रेस र यसका नेता कार्यकर्ता समेत नबोलेको भन्दै यसका विरुद्ध आवाज उठाउन उनले आग्रह गरे। विगतमा पार्टीभित्र बी.पी., सुवर्ण, गणेशमान जस्ता नेताहरुले राजनीतिमा नैतिकताको पाठ सिकाएर गएको भएपनि अहिले नैतिकताको ह्रास र इमानको कमि भएको कारण सिंगो पार्टी नै समस्यामा परेको उनको भनाई थियो। विगतमा नेताहरुबीच राजनीतिक विचारका आधारमा एक आपसमा स्वस्थ र स्पष्ट धारणा राख्ने र पक्ष विपक्षमा हुने परिपाटी भएपनि अहिले त्यसको अभाव रहेकोमा उनले चिन्ता प्रकट गरे। उनले कार्यकर्ताले नेताको अगाडि गएर आफूलाई लागेको कुरा भन्न पनि नसक्ने र नेता सुन्न पनि नचाहने अवस्था रहेको भन्दै पार्टीभित्र विचारको पक्षमा भन्दा गुटउपगुट बनाउने कुरामा सबै रमाउने कार्य गलत भएको उनले बताए। वर्तमान अवस्थामा कांग्रेसभित्र समस्या देखिएको विषयमा उनले पार्टी विधि र विधानबाट चलियो र समयमा अधिवेशन भयो भने कुनै ठूलो समस्या नभएको दाबी गरे। कांग्रेस अब तदर्थवादबाट चल्दैन भन्दै अबको तीनवर्षपछि हुने आम निर्वाचनमा कांग्रेसले नेगेटिभ भोटबाट चुनाव जित्ने भन्दा पनि जनताको जीवनस्तरमा कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भनि पोजेटिभ भोट कसरी हाँसिल गर्ने भन्ने पक्षमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update