नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को बिहिबार बुटवलमा उद्घाटन गर्दै प्रचण्डले जनताले अपेक्षा गरे अनुसारको काम पुरा गर्न सोच र शैलीमा परिवर्तन आवश्यक रहेको बताए ।
उनले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयता ल्याउनेमाथि प्रहार हुने भएकाले यसप्रति सचेत हुन उनले आग्रह गरे । प्रचण्डले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताए।
उनले विदेशी लगानी कर्तालाई लगानीको लागि विश्वासको वातावरण बनाउन ऐनकानूनमा सुधार गर्दै स्वदेशी लगानीकर्ता आकर्षित गर्ने खालका योजना बनाउन स्थानीय तहलाई आग्रह गरे । उनले राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको र बजेटसम्बन्धी सैद्धान्तिक पक्षमा छलफल गरेर खरीद ऐनलाई सरलीकरण गर्नेतर्फ ध्यान दिइएको बताए ।
त्यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिए। उनले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा लगानीको वातावरण अनुकूल बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे । उनले अन्य प्रदेशको तुलनामा यस प्रदेशले ७ दशमलब १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु राम्रो शुरुवात भएको बताए ।
सम्मेलनमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ता, विदेशी लगानीकर्ता, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, सङ्घीय सरकार मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीलगायत ८०० बढीको सहभागिता रहेको आयोजक तिलोत्तमा नगरपालीकाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय