नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेकै कारण वर्तमान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भौंतारिँदै सी पथमा आफ्नो त्राण खोजिरहेको आरोप लगाएका छन्।
दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकालदेखि नै सिद्धान्तमा अन्यौलता र अलमल भएकै कारण कम्युनिष्टहरुले माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलिय जनवाद, प्रचण्डपथ, जनताको जनवाद जस्ता अनेक नाउँमा रंगमगिँदै अहिले सी पथमा जाने तयारी गरिरहेको बताए।
पौडेलले भने, ‘कम्युनिष्टहरु हिजोसम्म माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलिय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के के हुँदै अहिले त सी पथमा पुगेका छन्। कम्युनिष्टहरु समाजवाद उन्मुख राज्य भन्दै हिडेका छन् तर, नेपालको समाजवाद के हो भन्न सक्दैनन्। केहिले के कहिले के भनेर छलछाम गर्दै हिँडेकाछन्। जनतालाई गुमराहमा राख्ने काम गरिरहेका छन्। आफुहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन्।’
उनले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण मुलुकलाई अगाडि बढाउन नसकेको दाबी पनि गरे बताए।
सिद्धान्तको कन्फुजनले गर्दा मुलुकलाई नै असफलताको दिशातर्फ धकेल्न खोजेको आरोप पनि उनले लगाए।
वरिष्ठ नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने भन्दा कम्यनिष्ट नेताहरुले केहि काम गर्न नसकेको दाबी पनि गरे।
उनले भने, ‘सरकार बनेको यतिका समयसम्म पनि केहि काम गर्न सकेको छैन। अहिलेसम्म जनताले हत्या, बलत्कार, हिंसा, भ्रष्टाचार भन्दा केहि पाएका छैनन्। कम्युनिष्टले जनतालाई दिएको उपहार यिनै हुन्।’
पौडेलले नयाँ परियोजना सुरु गर्दा सरकारमा भएका मान्छेहरुले कमिशनको भाग खोज्न थालेको आरोप पनि लगाए।
उनले भने, ‘देशमा विकास योजनाको कम्युनिष्टहरुले कमिशनको भाग खोजेका छन्। यसले गर्दा देशका जनतामा निराशा छाएको छ।’
कम्युनिष्ट नेताहरु फेरि अर्को आन्दोलन आवश्यक भएको बताउँदै हिड्न थालेका भन्दै यो उनीहरुको अर्कोे मुर्खता मात्रै भएको पौडेलल बताए।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय