नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षको समेत साथ पाएको स्थिर सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन्।
बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि वर्तमानमा जस्तो स्थीर सरकार र सबै राजनीति शक्तिको साथ विगतमा कहिल्यै नपाएको बताए।
पौडेलले भने, ‘सीमाको समस्या धेरै पहिलेदेखि हो तर, यो पटक हामी चुक्न हुँदैन। हामीले प्रधानमन्त्रीलाई भनेका छौं तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ। दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सिमा विवाद छन्। आफ्नो देशको सिमा सुरक्षाका लागि हामी एक छौं। प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो। हामीले हेर्ने बेला आएको छ।’
वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अब नयाँ सिराबाट अगाडि बढाउन जरुरी रहेको बताउँदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे।
पौडेलले भने, ‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङकन आवश्यक छ। दुई महिनामा गर्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन। अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन्। यो पक्ष उ पक्ष होइन पार्टीलाई ठुलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ। अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउछ।’
कांग्रेस वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल र फाष्टट्रयाकलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती जनाए। उनले विमानस्थल बनाउनेक्रम आवश्यक मात्र रुख कटान गर्नुपर्ने पनि बताए।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय