हिमाल दैनिक
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संवैधानिक व्यवस्था मास्नमा वर्तमान सरकार उद्धत भएको आरोप लगाउनुभएको छ । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–११ मा आज आयोजित घरदैलो एवं कोणसभामा उहाँले सरकार संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्दै लोकतान्त्रिक विधि र प्रक्रियालाई लत्याउने कार्यमा लागेको आरोप लगाउनुभएको हो । नेता सिटौलाले संविधानको मर्म र भावना एकातिर सरकार अर्कैतिर भएको बताउँदै सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि यो निर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो । जीवनभर कुनै लोभ मोहमा नफसेका नेता खेमराज पौडेललाई एकपटक जिताएर हेर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो । काङ्ग्रेस नेत्री एवं सांसद डा डीला सङ्ग्रौलाले धर्मसंस्कृति मुलुकको पहिचान भएको बताउँदै उक्त पहिचान कुल्चेर हिँड्नेलाई जनताले बेलैमा चिन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर बन्दै गएको बताउँदै उहाँले लोकतन्त्रको रक्षाका लागि यो चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update