हिमाल दैनिक
रविन्द्र अधिकारीका सहयात्री कमलजङ्ग कुँबरले दिए कास्की २ मा स्वतन्त्र उम्मेदवारी
23000069_10212801829814971_1808695718182686637_o
आसन्न उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि कमलजङ्ग कुँबरले स्वतन्त्र उम्मेदवारी दिएका छन्। लामो समयसम्म सरकारी सेवामा रहेर वन्यजन्तु संरक्षणमा उल्लेखनिय भूमिका निर्वाह गरेका कुँबरले बिहीबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी स्वतन्त्र उम्मेदवारी दिए। पञ्चायतकालदेखि नै अखिलको राजनीतिमा पूर्वसांसद रविन्द्र अधिकारीसँगै सक्रिय भएर लागेका कुँबर बहुदलीय प्रजातन्त्रको पुनस्थापना पश्चात सरकारी सेवामा प्रवेश गरेका थिए। खासगरी बन तथा वातावरण मन्त्रालय अन्र्तगत विभिन्न राष्ट्रिय निकुञ्जमा सरकारी अधिकृतको रुपमा क्रियाशील हुँदा उनले नेपालमा लोपउन्मुख एकसिंगे गैंडा र बाघ लगायतका वन्यजन्तु तथा वातावरण संरक्षणको क्षेत्रमा चर्चायोग्य काम गरेका थिए। सरकारी सेवामा उपसचिवसम्म बनेका कुँबरले कार्तिक १७ गतेदेखि सेवाबाट अवकाश लिएर बसेको पाँच दिनमा नै चुनावी राजनीतिको मैदानमा उत्रिने निर्णय लिए। मनोनयन दर्ता गरेलगत्तै हिमाल दैनिकसँग कुरा गर्दै कुँबरले आफू विगतमा राजनीतिमा सक्रिय रहेपनि पछि परिस्थितिले सरकारी सेवामा गएको र त्यसमा रहेर आफ्नो पदिय जिम्मेवारी र दायित्व सफलता पूर्वक निर्वाह गरेको बताए। खासगरी तत्कालिन नेकपा एमाले निकट रहेर विगतमा काम गरेका कुँबर पछिल्लो १० वर्षयता पार्टी र त्यसको नेतृत्वले लिएका कतिपय निर्णयप्रति असहमति जनाउँदै पार्टी राजनीतिबाट अलग भएको बताउँछन्। उनले भने, ‘जसले जे भने पनि समाज र देशलाई चलाउन प्रमुख भूमिका राजनीतिकै हुन्छ। जबसम्म राजनीतिमा नैतिकता, इमान्दारिता र जनताप्रतिको जवाफदेहिता हुँदैन त्यसले देश र जनताको भलो हुन सक्दैन। पछिल्लो समय जनतामा राजनीतिक दल, नेता र सरकारको नेतृत्वप्रति वितृष्णा पैदा भएको छ। उनीहरुले विकल्पको खोजी गरिरहेको समयमा मैले आफ्नो राजनीतिक र प्रशासनिक अनुभवको प्रयोग गरेर त्यो विकल्प परिपूर्ति गर्न सक्छु कि भनी उम्मेदवारी दिएको हुँ।’
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update