नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकै वरिष्ठ नेतादेखि महामन्त्री र केन्द्रीय नेताहरुलाई नै प्रशिक्षणको नपुगेको भनि सार्वजनिक कार्यक्रममा आक्रोस व्यक्त गरेका छन्।
तीन नम्बर प्रदेशका नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्न पुगको सभापति देउवाले सुरुमै पार्टी नेताहरुको अभिव्यक्तिप्रति चर्को असन्तुष्टि व्यक्त गरे।
उनीभन्दा अगाडी बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले ‘माओवादी जनयुद्ध’ ‘कम्युनिष्टको दुई तिहाईको सरकार’ भनि दिएको अभिव्यक्तिबाट आक्रोसित बनेका सभापति देउवाले सुरुमै भने, ‘नेताहरुलाई नै अझै प्रशिक्षण पुगेको छैन।’
माओवादीले चलाएको हिंसात्मक राजनीतिलाई ‘द्धन्द्ध’ भन्दै उनले भने, ‘हाम्रै नेताहरु जनयुद्ध भन्छन्। जनयुद्ध हो भने हाम्रा मान्छे मारेको ठीक भन्ने हो? त्यो युद्धमा जनताको संलग्नता कहाँ थियो ? हद भयो नि। यदि त्यो जनयुद्ध थियो भने त हाम्रो पार्टीका मान्छे, पुलिस, सेना मारेको पनि ठिक भन्नु पर्यो नि। त्यो द्धन्द्ध हो। अझै प्रशिक्षण पुगेको छैन।’
सरकारको विषयमा पौडेल र कोइरालाले दुई तिहाई बहुमतको दम्भका आधारमा सबै क्षेत्रमाथि अतिक्रमण भएको भन्ने विषयमा पनि देउवाले कम्युनिष्ट पार्टीको सरकारमा दुई तिहाई नभएको र प्रधानमन्त्री ओलीले पनि त्यो दाबी गर्न नसकेको भन्दै कांग्रेसका नेताहरुले दुई तिहाई कि दुई तिहाई भनेर बढाई चढाई गरेको आरोप लगाए।
राजनीतिमा प्रशिक्षण जरुरी रहेको भन्दै उनले अब भाषणमा भन्दा चुनाव कसरी जित्ने भन्ने कुरामा ध्यान दिन उनले सुझाव दिए।
विश्वका अधिकांश तानाशाहहरु चुनाव जितेरै आएको बताउँदै अहिलको कम्युनिष्ट नेतृत्वको सरकारले अख्तियार दुरुपयोग आयोगलाई शाही आयोगमा परिणत गर्न खोजिरहेको आरोप लगाए।
उनले नेपालको प्रजातन्त्र रक्षाका लागि फेरी पनि कांग्रेसले धेरै ठूलो लडाइ लड्न पर्ने अवस्था आएको भन्दै कार्यकर्ता र जनतालाई प्रजातन्त्रको पक्षमा अडिग भएर तयारी अवस्थामा बस्न आग्रह पनि गरे।
भारतले हालै प्रकाशित गरेको नक्सामा कालापानी र लिपुलेक लगायतको क्षेत्र आफ्नो भनेको विषयमा देउवाले भने, ‘कालापानी नेपालको हो। लिपुलेक ट्राइजंक्सन हो। भारतको मात्र होइन। दक्षिणतर्फ नेपालको हो पश्चिमको भारत र उत्तरको चीन हो। यो दंगाफसादबाट समस्या समाधान हुँदैन। वार्ताद्धारा हाम्रो हक स्थापित गर्नु पर्छ।’
सरकारका प्रधानमन्त्रीले रेल र पानीजहाजको कुरा गरेर जनतालाई भ्रमित पारेको भन्दै विदेशीको पैसाले रेल बनाए बनाउँछन् तर, नेपाल र नेपालीको आवश्यकता सडक भएको बताए।
पार्टीभित्र एकता हुनु पर्नेमा जोड दिँदै पार्टीले चुनाव जित्नै पर्ने अवस्था रहेको भन्दै उनले कुनै पनि बहानामा प्रजातन्त्र खोस्न दिनु नहुने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्न नपाइने बताए।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले सिद्धान्तको ठेगान नभएका कम्युनिष्टबाट देश र जनताको हित नहुने दाबी गरे।
अहिले राजनीतिका नाममा भएका जालझेल, गुण्डागर्दी, षडयन्त्र र पैसाको दबदबाले लोकतन्त्र घायल भएको भन्दै यसबाट राजनीतिलाई मुक्त गर्नु पर्नेमा जोड दिए।
कांग्रेसले बनाएको बाटो, भवन र खानेपानी उद्दघाटन गरी कम्युनिष्टले कांग्रेसले केही गरेन भनि भाषण गर्ने गरेपनि उनीहरुले संमृद्धिका लागि ‘युद्ध’ गरेको आज केही पनि आधार दिन नसकेको बताए।
जनताबाट झण्डै झण्डै दुई तिहाईको मत पाएर उपेन्द्र यादवलाई पनि साथ लिएको वर्तमान सत्ताले दुई तिहाइको डण्डा देखाएर अदालतको सातो लिइरहेको र अख्तियारको लगायतका संवैधानिक निकायलाई हतोत्साहित बनाएको आरोप पौडेलले लगाए।
सुगौली सन्धीले लिम्पियाधुराबाट आएको काली नदीलाई नेपाल भारतको सीमाना भनेको भन्दै यसमा चीन र भारतबीचको सहमतिले लिपुलेकलाई दुई देशको व्यापारिक नाका भन्नु गलत भएको पनि उनले बताए।
उनले चीन आफैले समाजवादको कुरा गरिरहेको बेला नेपालका कम्युनिष्टहरुले कहिले नौलो जनवाद, कहिले बहुदलीय जनवाद त कहिले के भन्दै अहिले सी पथको विषयमा प्रशिक्षण दिन थालेको उनको आरोप थियो।
चीनको जति श्रमको शोषण गर्ने कम्युनिष्टहरुले कहाँ छन् भन्दै उनले जनतामाथि डोजर लगाएको कम्युनिष्ट सत्ताले श्रमजिवी जनतालाई दमन गरेको इतिहास कसैबाट नछिपेको भन्दै यहाँ केपी ओली पनि सारा ट्रेड युनियनको अधिकार समाप्त पार्दै अघि बढेको आरोप पनि लगाए।
साथै उनले कम्युनिष्टसँग सिद्धान्तको खडेरी परेको बताउँदै प्रशिक्षणले कांग्रेसलाई वैचारिक बहसमा खरो रुपमा उत्रन सक्ने बनाउनु पर्नेमा जोड दिए।
कम्युनिष्टहरुले बुढाबुढीलाई सय रुपैयाको भत्ता दिएको हल्ला गरेको भन्दै पौडेलले कांग्रेसले बृद्धहरुको लागि २० वर्षको आयु बढाइदिएको बताउँदै अब पार्टीमा कम्युनिष्टसँग ओरल्ली, मोरल्ली र पोलिटीकल्ली सामाना गर्न सक्ने अवस्थाको निर्माण गर्नु पर्ने बताए।
त्यसैगरी नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा उपसभापति विमलेन्द्र निधिले कांग्रेसको सिद्धान्तले राजनीतिमा विजय हाँसिल गरेपनि चुनाव हारेको भन्दै अब पार्टीलाई वैचारिक, सैद्धान्तिक र राजनीतिक रुपमा सवल बनाउनु पर्ने अवस्था आएको बताए।
उनले पार्टी पार्टीको रुपमा बलियो हुनका लागि वैचारिक रुपमा स्पष्ट र संमृद्ध हुनु बताउँदै अहिलेको कम्युनिष्ट सत्ताधारी दलबाट संविधान, संघीयता र लोकतन्त्रलाई क्षतविक्षत पार्ने काम भइरहेको आरोप लगाए।
सरकारले सम्पूर्ण अधिकारहरु केन्द्रीकृत गर्ने काम गरिरहेको र राज्यका सबै अंगलाई यो सरकारले पंगु बनाएको आरोप पनि उलने लगाए।
महामन्त्री शशांक कोइराला अहिले राष्ट्र अत्यन्त अप्ठ्यारो अवस्थामा भएको बताउँदै दुई तिहाइ बहुमतको दम्भको सरकार चलिरहेको आरोप लगाए।
‘दुई तिहाई बहुमतको दम्भमा सरकार चलिरहेको छ तर, उनीहरुले कुनै सपना बाँड्न सकिरहेका छैनन्। न विचार छ। तर, हामीसँग बी.पी. कोइरालाले देखेको सपना छ।’
उनले बी.पीको त्यो सपना पहिलो पटक गिरिजाप्रसाद कोइरालाको सरकारले साकार पार्ने कार्यको सुरु गरे र त्यसैको परिणाम स्वरुप अहिले सबैको हातमा मोबाइल, दर्जन बढि विश्वविद्यालय र २० वटा मेडिकल कलेज स्थापना भएको दाबी गरे।
साथै उनले ०४६ सालमा जनआन्दोलन गर्दा तत्कालिन वाममोर्चासँग भएको सहकार्य गलत भएको दाबी गरे।
‘त्यो आन्दोलनमा हामी कम्युनिष्टहरुसँग मिल्नै नहुने थियो। हामी नमिलेको भएपनि भारतीय नाकाबन्दीको कारण राजालाई घुँडा टेकाएर प्रजातन्त्र आउने थियो। तर, हामी मिल्यो र ५१ मा उनीहरुको सरकार बनाउने आधार बनाइदियौँ। बी.पी.ले कहिल्यै कम्युनिष्टसँग मिल्नु भएन। तर विगतमा नेताहरुले कम्युनिष्टसँग हबनब गरेको कारण आजको अवस्था आएको हो,’ उनले भने।
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय