हिमाल दैनिक
प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगको भनाई छ। मतदाता नामावली तथा मतदाता परिचयपत्रमा भएको मतदाताको विवरणमा सामान्य त्रृटि पाइएमा सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न दिने प्रबन्ध मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको आयोगले जानकारी दिएको छ। आयोगले ३७ जिल्लामा रिक्त रहेको ५२ पदका लागि हुने उपनिर्वाचनका लागि आवश्यक कर्मचारीसहित, सुरक्षाकर्मी लगायत आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको जनाएको छ। आयोगका प्रमुख निवार्चन आयुक्त दिनेशकुमार थपलियाले अहिलेसम्म उपनिर्वाचन बिथोल्ने कुनै किसिमको गतिविधि नभएको पनि दाबी समेत गरे। उनले निर्वाचनलाई चुस्त, दुरुस्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तीन वटै निकायका सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए। त्यस्तै उनले निवार्चनमा सहभागी हुन सम्बन्धित निर्वाचन क्षेत्रका मतदातासँग आग्रह समेत गरे। निर्वाचनको अनुमगन गर्न अन्तर्राष्ट्रिय नियोगका कर्मचारी तथा पर्यवेक्षकहरु पनि खटिएको आयोगले जनाएको छ। त्यस्तै शारिरिक रुपमा अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई मतदान गर्नका लागि पहिलो प्राथकिमता दिइएको बताइएको छ। शनिबार हुने उपनिवार्चनमा जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदानमा सहभागीता जनाउदैछन् । त्यस्तै कुल मतदाता मध्ये १६ हजार २ सय १९ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update