हिमाल दैनिक
देवघाटमा गएर ध्यान र ज्ञान सिक्न कुन नेताको पालो कहिले आउला?
politicians-age-01
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालको विचार अनुरुप ७४ वर्षको उमेरमा राजनीति छोडेर ध्यान र ज्ञान सिक्न देवघाट जानु परेमा उनका लागि अझै ९ बर्ष जति कुर्नु पर्ने भएको छ। पोखराको चुनावी सभामा हालै उनले व्यक्त गरेको अभिव्यक्ति अनुसार, ७४ वर्षको उमेर भनेको सक्रिय राजनीति छोडेर देवघाट जाने, ध्यान र ज्ञान सिक्ने अवस्था हो। यदि उनले भने अनुसार, राजनीतिमा सक्रिय रहेका नेताहरुले त्यो उमेर पश्चात राजनीति छोड्ने हो भने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनता पार्टी, नेपालका नेता महन्थ ठाकुरको समय घर्किसकेको छ। वरिष्ठ नेता पौडेलको उमेर ७५ वर्ष भयो भने ठाकुरको उमेर ७६ वर्ष। उनीहरुसँगै जनमोर्चाका नेता चित्रबहादुर कसीको उमेर पनि ७५ वर्ष पुगिसकेको छ। त्यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाको पनि ७३ वर्ष उमेर भइसकेको छ। तर, ६८ वर्षका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय अझै ६ वर्ष बाँकी नै रहेको छ। नेकपाकै अर्का नेता माधवकुमार नेपालको ६७ वर्ष उमेर भएपनि झलनाथ खनाल र वामदेव गौतमको क्रमशः चार र तीन वर्ष बाँकी छ। त्यसैगरी, कांग्रेसका गोपालमान श्रेष्ठको उमेर पनि घर्किसकेको छ भने कृष्णप्रसाद सिटौलाको अझै चार वर्ष बाँकी नै छ। उपसभापति विजयकुमार गच्छदारको भने अझै ८ वर्ष बाँकी नै छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update