हिमाल दैनिक
खेमराज पौडेल र विद्या भट्टराईः को पूँजीवादी को साम्यवादी?
poudel bhattrai house
उपनिर्वाचनको मिति आउन अब चार दिन मात्र बाँकि छ। मंसिर १४ गते शनिबार प्रतिनिधि सभाको सदस्य पदका लागि कास्की क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा २१ उम्मेदवार मैदानमा उत्रिएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विद्या भट्टराई र नेपाली कांग्रेसका खेमराज पौडेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। निर्वाचनको प्रचार प्रसारका क्रममा राष्ट्रिय राजनीतिमा पार्टीगत आरोप प्रत्यारोपका अतिरिक्त सिद्धान्त र विचारसँगै व्यक्तिगत कमिकमजोरीलाई चुनावमा मत माग्ने मसला पनि बनाइरहेका छन्। सैद्धान्तिक रुपमा हेर्ने हो भने, नेपालको राजनीतिमा दशकौंदेखि वामपन्थी/कम्युनिष्ट धारका नेता, कार्यकर्ताहरुले आफूलाई साम्यवादी अथवा सर्वहारा वर्गको प्रतिनिधि भन्न रुचाउँछन्। यसका अतिरिक्त उनीहरुले प्रजातान्त्रिक धार, विशेषगरी कांग्रेस र त्यसका नेता कार्यकर्तालाई दलाल, पूँजीपति र सामन्ती अथवा सम्पन्नशाली वर्गको प्रतिनिधिका रुपमा चित्रण गर्ने गर्दछन्। तर, व्यवहारिक र वस्तुनिष्ठ ढंगले विश्लेषण गर्यो भने पछिल्लो समय यो तर्कको चित्र बेग्लै देखिन पनि सक्दछ। यस्तै चित्र देखिन्छ कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य पदका दुई प्रत्यासीहरुबीचको अवस्था। नेकपाकी उम्मेदवार भट्टराई नेपालको कम्युनिष्ट विद्यार्थी राजनीतिबाट उदाएर छोटो समयमै राष्ट्रिय राजनीतिमा स्थापित भएका पूर्वमन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी हुन्। जो साम्यवादी वर्गको प्रतिनिधित्व गर्ने समूहमा पर्दछिन्। कम्युनिष्टहरुको भाषामा कास्की कांग्रेसका पुराना नेता खेमराज पौडेल, जसलाई कास्की कांग्रेसका ठूला नेतादेखि साना कार्र्यकर्तासम्म ‘खेमराज गुरु’ अथवा ‘खेमराज दाई’ भनि बोलाउने गर्दछन्, उनी पूँजीवादी वर्गको प्रतिनिधित्व गर्दछन्। तर, यी दुई उम्मेदवारहरुको आर्थिक अवस्था हेर््यो भने तस्वीर उल्टो देखिन्छ। झण्डै अर्बको सम्पत्ति भएका रविन्द्रकी श्रीमती विद्या सर्वहारा कम्युनिष्टको प्रतिनिधित्व गर्छिन भने मुस्किलले केही लाखका धनि खेमराज पूँजीपतिको नेता! प्रतिनिधि सभाको निर्वाचन लगत्तै नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका रविन्द्रले ०७४ चैत २५ गते मन्त्रिपरिषद सचिवालयमा बुझाएको सम्पत्ति विवरणले अधिकारी र उनको परिवार साम्यवादी पार्टीको सर्वहारा नेता होइन नवधनाढ्य वर्गको पो हुन कि भन्ने तस्विर झल्किन्छ। विद्या भट्टराईका पति स्वर्गीय अधिकारीको सम्पत्ति विवरण अनुसार, उनको परिवारको नाममा सगोलमा पोखरा महानगरपालिका वडा नम्बर ३३ मा ९० रोपनीका एउटा र अर्को ५ रोपनी गरी ९५ रोपनी, वडा नम्बर २७ मा ४.५ रोपनी घडेरी, वडा नम्बर ५ मा ४.५ आना जग्गा पैत्रिक सम्पत्तिको रुपमा उनका बाबु इन्द्रप्रसाद अधिकारीको नाममा रहेको छ। त्यसैगरी काठमाडौंको बुढानिलकण्ठमा आमा लक्ष्मीदेवी अधिकारीको नाममा ५ आना जग्गा पोखराको जग्गा विक्री र भाइहरुको आम्दानीमा खरिद गरिएको सगोल परिवारको सम्पत्ति रहेको उल्लेख छ। उनको पोखरा ३३ मा पुरानो घर छ भने वडा नम्बर ५ मा साढे दुई तले पक्की घर र काठमाडौंमा पनि पक्की घर छ। जब कि कांग्रेस उम्मेदवार खेमराज पौडेलको पोखरा २२ अर्थात पुम्दभिुम्दी नाममा २ रोपनी १५ आनाको एउटा र २ रोपानी ८ आना १ पैसा, एक दामी गरी कुल ५ रोपनी ७ आना, १ पैसा र १ दाम भिरपाखाको दोयम तथा १२ आना ३ पैसा, ३ दाम एउटा र १० आना अर्को कित्ता गरी कुल २२ आना ३ पैसा, ३ दाम खरबारी रहेको छ। [caption id="attachment_78335" align="alignnone" width="1900"] रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईकाे घरकाे फाेटाे अनलाइनखबरबाट साभार[/caption] हिमाल दैनिकलाई प्राप्त प्रमाण अनुसार, उनले ३ रोपनी ५ आना जग्गा पहिले नै विक्री गरेको देखिन्छ। यसअतिरिक्त उनकी कान्छी बुहारी रमा वाग्लेको नाममा पोखरा छिनेडाँडामा ५ आना जग्गा रहेको छ। साथै उनको वडा नम्बर २२ पुम्दीभुम्दी लुकुनस्वारामा जस्ताले छाएको धुरी र ढुंगाले छाएको पाली भएको सानो कच्ची घर छ। त्यसैगरी अधिकारीको परिवारका नाममा पैत्रिक सम्पत्तिकै रुपमा ६० तोला सुन र ३० केजी चाँदी रहेको उल्लेख छ। जसको मूल्य आजकै दिनमा सुनको ४२ लाख ७२ हजार तथा सुनको २१ लाख ६० हजार रुपैयाँ हुन आउँदछ। जब कि कांग्रेस नेता खेमराजको परिवारका नाममा श्रीमती र कान्छी बुहारी रमाको संयुक्त रुपमा करिब ७ तोला अर्थात ५ लाख रुपैयाँ बराबरको रहेको छ। यसका अतिरिक्त अधिकारीको गण्डकी विकास बैंक, पोखरामा १५ लाख ७ हजार ५ सय बैंक मौज्दात जग्गा विक्रीबाट तथा एभरेष्ट बैंक काठमाडौंको खातामा पारिश्रमिक वापत ९ लाख ५० हजार रहेको उल्लेख छ। तर, कांग्रेस उम्मेदवार पौडेलको पोखरा बाणिज्य बैंकमा पेन्सनका लागि खोलिएको बैंक खातामा मौज्दात नरहेको पारिवारिक स्रोतले बतायो। यस्तै, अधिकारीसँग गण्डकी विकास बैंकको २६ हजार बराबरको तथा पानीखोला जलविद्युत अयोजनामा ३० लाख बराबरको शेयर रहेको उल्लेख छ। जबकि पौडेलका कान्छा छोरा दर्शन पौडेलको नाममा कैलाश विकास बैंकमा दुई सय कित्ता शेयर, जविद्युत लगानी तथा विकास कम्पनी लि. को ८७ कित्ता श्रीमती रमासहितको नाममा रहेको छ। त्यसैगरी दर्शनको नाममा एभरेष्ट बैंक र सानीमा बैंक, एसविआई र जनता बैंकमा एक/एक सयका दरले ४ सय तथा हिमालयन बैंकमा २ सय कित्ता शेयर रहेको छ। यसैगरी अकिारीले २० लाखमा खरिद गरेको सानो कार रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख छ भने पौडेलसँग कुनै सवारी साधन छैन।
 

यस सम्बन्धि थप समाचारहरु:

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update