प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा गठन भएको सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा पार्टीको २१ महिना, कांग्रेसको नेतृत्वमा भएको ऐतिहासिक उपलब्धि, वर्तमान सरकारले २१ महिनामा गर्न नसकेका कामलगायत विषय समेटिएका छन्। प्रतिबद्धतापत्र मार्फत कांग्रेसले सरकार असफल भएको आरोप लगाउदै सरकारको २१ असफलताहरु सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको प्रश्नमा , संविधानप्रति अपनत्वको दायरा विस्तारमा , सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमा, संघीयताको बाँकी कार्यभार पूरा गर्नमा, विप्लव प्रकरणमा सरकार असफल भएको बताए।
त्यस्तै शान्ति सुरक्षा, मूल्य बृद्धि, धर्मको प्रश्नमा होली वाइन प्रकरण लगाएतमा पनि सरकार असफल भएको उनले आरोप लगाए।सञ्चारकर्मीको एक जिज्ञासामा उनले कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमका बारेमा कानुन बमोजिम सबै प्रक्रियामा कांग्रेसले सहयोग गर्ने बताए।
कानून बनाउन कांग्रेसले नै पहल गरेको भन्दै यसको पालनामा प्रतिवद्ध रहेको प्रवक्ता शर्माको भनाई छ । उनले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको पनि बताए।
प्रवक्ता शर्माले मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले सरकार नबदले पनि सरकारको शैली बदल्न सहयोगी हुने दाबी गरे । उपनिर्वाचनको तयारीमा कांग्रेस एकतावद्ध भएको पनि शर्माले बताए । पत्रकार सम्मेलनअघि कांग्रेसले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेको थियो ।
[pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2019/11/apil-cover.pdf" title="apil cover"]
[pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2019/11/apil-book.pdf" title="apil book"]
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय