हिमाल दैनिक
उत्तर र दक्षिणका छिमेकी देशले नेपालको सीमाना निरन्तर मिचिरहेका गुनासा स्थानीयस्तरबाट देशभित्र र बाहिर चर्को विरोध भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो समस्या नयाँ नभएर पुरानै भएको भन्दै दायित्ववहनबाट पन्छिने कोशिश गरिरहेका छन्। खासगरी पछिल्लो समय नेपालको सुदूरपश्चिम दार्र्चुलाको सीमानामा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूभागलाई भारतले आफ्नो नयाँ नक्साभित्र पारेको विषयमा जनस्तरबाटै चौतर्फी विरोध भइरहेको बेला प्रधानमन्त्री ओलीले यसलाई कतिपयले नयाँ समस्या भएको जस्तो गरी उचालेको आरोप लगाएका छन्। https://www.facebook.com/himaldainik/videos/445793449412199/ आइतबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। नेपालको एक इन्च भूमि पनि कसैले मिच्न नसक्ने धारणा राखेका प्रधानमन्त्री ओलीले परस्पर विपरित अभिव्यक्ति दिँदै सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेकोले एक इन्च भूमि पनि मिच्न नदिने बताए। नेपालको सीमाना अतिक्रमणको विषयमा उनले अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उनले सीमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले उचाल्ने काम गरेको आरोप लगाए। साथै उनले आफ्नो नेतृत्वमा रहेको सरकार वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको दाबी पनि गरे। प्रधानमन्त्री ओलीले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह पनि गरे। विगतमा नेपालको भूभागमाथि अधिकांश क्षेत्रमा भारतीय पक्षबाट भएको अतिक्रमण व्यवहारिक रुपमा मात्रै भएपनि यसपटक भने भारतले आफ्नो नयाँ नक्सामा नै कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर त्यसलाई वैधानिकता दिने प्रयास गरेको छ। तर, प्रधानमन्त्री तथा सरकारको आधिकारिक निकायबाट यसबारे कुनै औपचारिक धारणा सार्वजनिक नभएको अवस्थामा शनिबार मात्रै तेस्रो पटक हेमोडायलाइसिस गरेर फर्किएका ओलीले आफ्नो धारणा बाहिर ल्याए। नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाव नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले संवाद मार्फत सीमासम्बन्धी समस्या समाधान गर्ने बताए। कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उनले नक्सा नभइ भूमि फिर्ता लिने विषय महत्वपूर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको पनि दाबी गरे। तर, त्यो भूमि कसरी र कुन माध्यमबाट फिर्ता हुन्छ भन्नेबारे उनले कुनै उल्लेख गरेनन्। केही कमी कमजोरी भए पनि लोकतान्त्रिक प्रणाली भएकाले जस्तो भए पनि शासक स्विकार्नुपर्ने विगतको जस्तो बाध्यता अहिले नभएको भन्दै उनले श्रृजनात्मक सोचका साथ काम गर्न निर्देशन दिए। कार्यक्रममा नेकपाका द्धितीय अध्यक्ष पुष्प कमल दाहालले नेपालमा विकासको युग सुरु भइसकेको बताए। दाहालले बहुदलीय जनवाद या माओवादको कुरा गर्दा एकताको औचित्य पुष्टि नहुने दाबी पनि गरे। जनताको जनवादमार्फत विकास र समृद्धिको बाटोमा अघि बढेको दाबी गर्दै दाहालले पुराना सिद्धान्त र कार्यक्रमहरूमाथि गम्भीर समीक्षा गरेर नै तत्कालको कार्यक्रमका रूपमा जनताको जनवादमार्फत समाजवाद निर्माण गर्ने कार्यक्रमको तय गरिएको बताए। त्यस्तै नेकपा महासचिव बिष्णु पौडेल, श्रमममन्त्री गोकर्ण बिष्ठ लगाएतले आफ्नो उदेश्यमा कन्द्रित भइ जनताको पक्षमा काम गर्न युवा संघलाइ निर्देशन दिएका थिए। कार्यक्रममा युवा संघले अध्यक्षद्वयलाई सम्मान गरेको थियो। देशका ७७ जिल्लामा नै पदाधिकारी चयन गरेपछि संगठनले पहिलो भेला बोलाएको हो।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update