हिमाल दैनिक
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताका सुख दुःखमा साथ दिने भन्दै अहोरात्र आफू जनताका काममा लागिपर्ने बताएका छन् । हिजो पोखरा महानगरपालिका–२० भलाममा आयोजित घरदैलो कार्यक्रममा उनले जनताले उठाएका हरेक समस्याको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उम्मेदवार पौडेलले बिहीबारदेखि पोखरा २० को साविक भलाम गाउँविकास समिति वडा नं १ बाट शुरु गरेका थिए दुईदिने घरदैलो अभियान डाँडाखोर हुँदै आज मौजा, आँटीघर लगायतका क्षेत्रमा पुगेर सकिएको चुनाव प्रचारप्रसार समितिले जनाएको छ । उम्मेदवार पौडेलले आज मौजा आँटीघरमा पुगी १०६ वर्षीय आईतश्री दमिनीबाट आशिर्वाद लिएका थिए । अहिलेसम्म विभिन्न समय गरी ११ पटक मतदान गरिसकेको बताउँदै आईतश्रीले मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि नफर्केको गुनासो गरे। वडाको घरदैलो अभियान समापन कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले वर्तमान सरकारलाई सही बाटोमा हिँडाउन पनि काङ्ग्रेसले जित्नुपर्ने बताइन् । उनले संविधानको मर्म र भावनाअनुसार सरकार चल्न नसकेको उल्लेख गरिन् । प्रदेशसभा सदस्य एवं प्रचार समितिका संयोजक विन्दुकुमार थापाले घरदैलोमा वर्तमान सरकारबाट जनता निराश भएको दावी गर्दै काङ्ग्रेसलाई जिताउन आग्रह गरे । शनिबार पोखरा–११ वडा तथा आइतबार र सोमबार पोखरा ३३ भरतपोखरीमा घरदैलो गरिने चुनाव प्रचारप्रसार समितिले जनाएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update