हिमाल दैनिक
प्रधानमन्त्री ओलीले चढाए कुन्दन अर्यालसहित ६ जना सहयोगीको बलि
Kundan out
सदियौंदेखि चलिआएको रित होः कुनै पनि शक्तिपिठलाई खुशी पार्न मानिसले सिंह, बाघ, भालु अथवा गैंडा र हात्ती जस्ता शक्तिशाली जनावरको बलि चढाउँदै। किन कि बलि चढाउने भनेको त केबल कमजोर र निरिह पशुः राँगा, बोका, भेडा, कुखुरा, परेवा, हाँस र त्यो पनि नभए सिन्काको खुट्टा लगाएको कुभिण्डोको हो। यस्तै भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा। शक्तिशाली सहयोगीहरुको जागिर थमौति गरेर कमजोर र निरिह व्यक्तिहरुलाई पदमुक्त गरिएको छ। बलियो जनमत पाएर स्थिर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीको झण्डै दुई वर्षको गतिविधि र त्यसले लिएको निराशाजनक कार्यशैलीको स्वंय सत्तारुढ पार्टीभित्र र बाहिर चर्को आलोचना हुँदै आएको थियो। तर, त्यो आलोचनाको कारक आफू भन्दा पनि सबै दोषको भारी सहयोगीहरुमाथि थोपारेर सबैको ध्यान अन्यत्रै केन्द्रीत गर्ने उद्देश्यले गतसाता प्रधानमन्त्री ओलीले सचिवालयका सहयोगीहरुको सामूहिक राजीनामा मागे। उनको सचिवालयमा रहेका एक दर्जनभन्दा बढि सल्लाहकार र सहयोगीमध्ये अधिकांशको आक्रोस ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईप्रति पार्र्टीभित्रैका अधिकांश नेता कार्यकर्ताको असन्तुष्टि थियो। तर, प्रधानमन्त्री ओलीले आफ्ना ६ जना सल्लाहकार र सहयोगीको राजीनामा मात्रै स्वीकृत गर्दै बाँकी सात जनाको जागिरलाई निरन्तरता दिए। यसरी पदमुक्त हुनेहरुमा प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा घनश्याम भट्टराई, फोटो पत्रकार कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल रहेको प्रधानमन्त्री ओलीको सचिवालयका एक सहयोगीले जानकारी दिए। तर, प्रधानमन्त्री ओलीका विशेष सहयोगीका रुपमा रहेर पनि उनलाई सरकारका मन्त्री, पार्टी नेतादेखि कार्यकर्ताबाट टाढा राखेर आलोचनाको कारक बनेका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाकार राजन भट्टराईको जागिर भने यथावत नै रहेको छ। स्रोतका अनुसार, रिमाल र भट्टराईले यसअघि प्रधानमन्त्री ओलीले राजीनामा मागेपनि आफ्नो पदबाट राजीनामा पत्र नबुझाएका थिए। यसैगरी ओलीको सचिवालयमा थमौती भएका अन्य सहयागीहरुमा स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य, रामशरण बजगाईँ र दिपेन दाहाल रहेको स्रोतले बतायो।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update