लामो समयदेखि रिक्त रहेका विभिन्न संवैधानिक निकायमा पदपूर्तिका लागि सिफारिस गर्न डाकिएको संवैधानिक परिषदको बैठक बुधबार पनि स्थगित भएको छ।
कहिले प्रमुख प्रतिपक्ष दलका नेताको आग्रहमा त कहिले प्रधानन्यायाधीशको अनुपस्थितिका कारण यसअघि दुई पटक स्थगित भएको बैठक बुधबार अपरान्ह १ः३० बजेका लागि डाकिएको थियो।
तर, बैठक बस्नु केही समय अगाडि परिषद सचिवालयले सबै सदस्यहरुलाई अर्को सूचना नआएसम्मका लागि आजको बैठक स्थगित भएको जानकारी दिइएको थियो।
स्रोतका अनुसार, प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले बैठक बस्नु अघि परिषदका सदस्यहरुबीच उच्चस्तरको सहमति कायम गरी बस्न उपयुक्त हुने निश्कर्षमा आजको बैठक स्थगित गरेका थिए।
निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता पारिएका व्यक्तिहरुको छानविनका लागि गठित आयोग लगायतका विभिन्न आयोगका करिब २ दर्जन जति पदमा नियुक्ति हुन सकेको छैन।
यसअघि कार्र्तिक पहिलो साता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरुको अनौपचारिक बैठकले संविधान बमोजिम पदपूर्ति गरिने संवैधानिक निकायमा राजनीतिक आस्था र लाभ, हानीलाई ध्यानमा राखी बहुमत र अल्पमतका आधारमा नियुक्तिको सिफारिस नगरी सम्बन्धित क्षेत्रको विज्ञता र उच्च नैतिक आदर्श भएका योग्य उम्मेदवारहरुलाई सहमतिका आधारमा नै सिफारिस गराउनु उपयुक्त हुने सुझाव परिषद अध्यक्ष ओलीलाई दिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेको थियो।
त्यसलगत्तै सभापति देउवाले प्रधानमन्त्री तथा परिषद अध्यक्ष ओलीलाई फोन गरी त्यतिबेलाको बैठक स्थगित गरी बैठक बस्नु अघि परिषदका सदसयहरुबीच अनौपचारिक छलफल र सहमति कायम गराएपछि मात्रै औपचारिक बैठकमार्फत निर्णय लिन सुझाएका थिए।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय