चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आज शिष्टाचार भेट गरेका छन् ।
भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल र बङ्गलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसङ्ग जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिए । नेपालको परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष दाहालले निर्वाह गर्नुभएको भूमिकाको उनले खुलेर प्रशंसा गरे । नेपालले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा निर्वाह गरेको भूमिकाको समेत उनले सराहना व्यक्त गरेको रिजालले सञ्चारकर्मीलाई जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि उनि मङ्गलबार आएका हुन् । उनले मङ्गलबार नै भक्तपुरको दरबार स्क्वायरकोे स्थलगत अवलोकन भ्रमण गरेका थिए।
बिहीबार उनले पर्यटकीय क्षेत्र पोखराको भ्रमण गर्दै छन् भने काठमाडौँ चन्द्रागिरिको समेत भ्रमण गर्ने कार्यतालिका छ । उनि भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्कनेछन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय