हिमाल दैनिक
सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी राष्ट्रपतिको स्वागत
president hamid
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उनले नेपाली गीतसङ्गीतको स्वाद लिए । उनको स्वागत तथा सम्मानमा विमानस्थलमा कलाकारले प्रदेश नं १ को मारुनी, प्रदेश नं २ को झाँगड, प्रदेश नं ३ को तामाङसेलो, गण्डकी प्रदेशको कौरा, प्रदेश नं ५ को टप्पा, कर्णाली प्रदेशको थकाली र सुदूरपश्चिम प्रदेशको हुड्केली गीत तथा नृत्य पस्केका थिए । रातो साडी, चोली र जामामा देखिएका महिला कलाकार घुम्टो ओढेर छड्के तिलहरीमा सजिएका थिए । कानमा ढुङ्ग्री, शिरमा शिरबन्दी तथा शिरफूल लगाएर प्रदेश नं १ का कलाकारले मारुनी नृत्य प्रस्तुत गरे । [caption id="attachment_77288" align="aligncenter" width="1920"] तस्विर:बङ्गलादेशका राष्ट्रपतिको स्वागत अभिवादन[/caption] मौलिक पोशाकमा रहेका पुरुष कलाकारले तरबार र ढाला प्रदर्शन गर्दै मौलिक नृत्य देखाए । उहाँहरुलाई प्रहरीको सङ्गीत विद्यालयका नृत्य निर्देशक जलमाया गुरुङ र प्रदीप हमालले निर्देशन गरेका थिए । अर्कातर्फ नेपाली मौलिक पोशाक (गुन्यु, चोली र नेपाली टोपीसहित दौरासुरुवाल) मा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले उहाँलाई बङ्गाली भाषामै स्वागत गरे । आफ्नै भाषामा स्वागत पाउँदा उनले ‘भालो आसी’ भनेर हात हल्लाउँदै अभिवादनका साथ स्वागत स्वीकारे । हातहातमा नेपाल र बङ्गलादेशको झण्डा फहराउँदै बालबालिकाले स्वागत गर्दा राष्ट्रपति हमिदको मुहार चम्किलो देखिन्थ्यो । यसअघि विमानस्थलमा भौतिक पूर्वाधार तथा यातायतातमन्त्री रघुवीर महासेठले र अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षीलाई स्वागत गरेका थिए । उनलाई अतिविशिष्ट कक्षाको मूल प्रवेशद्वारमा पञ्चकन्याले पुष्पहारले स्वागत गरे । राष्ट्रपति भण्डारीको निमन्त्रणामा चार दिवसीय सद्भावना भ्रमणका लागि आउनुभएका राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारी अधिकारी उपस्थित थिए। विमानस्थलको बाहिरी प्रवेशद्वार आसपास सर्वसाधारण, स्काउटका विद्यार्थीले झण्डा फहराउँदै अभिभादन गरेका थिए । विभिन्न जातजातिको मौलिक पोशाक लगाएर झाँकीसहितको नृत्य प्रस्तुत गरी विशिष्ट पाहुनाको स्वागत गरिएको थियो । सुरक्षाका लागि ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । उनको स्वागतमा सडकमार्गका खम्बामा नेपाल र बङ्गलादेशका राष्ट्रपतिको तस्वीर राखिएको छ भने ठाउँठाउँमा दुवै देशको झण्डा फहराइएको छ । सडकका विभिन्न ठाउँमा स्वागतद्वारसमेत बनाइएको छ । आजै उनले भक्तपुरको सम्पदा क्षेत्रसमेत अवलोकन भ्रमण गरे । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षीले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षीे नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही साँझ रात्रिभोजको आयोजना गर्नेछिन् । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रागिरि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनि भ्रमण सकेर यही कात्तिक २९ गते स्वदेश फर्कनेछन्
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update