देशमा आमूल राजनीतिक परिवर्तनको नारा लिएर हतियार उठाउँदै १० वर्षे हिंसात्मक द्धन्द्ध मच्चाएको नेकपा माओवादी नेपालको राजनीतिमा इतिहासको पानामा सिमित हुन पुगेको छ।
दोस्रो जनआन्दोलन पश्चात शान्ति प्रक्रियामार्फत पहिलो संविधान सभामा अप्रत्याशित सफलता हाँसिल गरेपनि दोस्रो संविधान सभा र ०७४ को प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समयसम्म चुनावी राजनीतिमार्फत अस्थित्वमा रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी आसन्न उपनिर्वाचनको प्रक्रियामा आइपुग्दा इतिहास बन्न पुगेको हो।
खासगरी ०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा तत्कालिन नेकपा एमालेसँग वामगठबन्धनको नाममा चुनावी तालमेल गर्दासम्म उक्त पार्टीको अस्थित्व कायमै थियो।
तर, चुनाव लगत्तै सुरु भएर लगत्तै एमालेसँग पार्टी एकता गरेको माओवादीको पूर्णरुपमा एकीकरण प्रक्रिया नटुंगिँदै माओवादी नामको पार्टी पनि थियो र भन्ने अवस्थामा पुग्यो।
दुई पार्टीबीच भएको एकीकरण पश्चात पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भएपनि विघटित एमालेको चुनाव चिन्ह सूर्य कायमै रहन पुग्यो। जसको माध्यमबाट अहिले पनि समाजका हरेक तहमा एमाले नभनिएपनि सूर्य चिन्ह देख्नासाथ आम जनताले नेकपा भन्दा पनि एमाले नै सम्झिन्छन् र उसको इतिहासमात्र होइन वर्तमान र भविश्य पनि कायमै रहिरहने स्थिति बनेको छ।
दुई पार्टीबीचको एकीकरणका समयमा पार्टीको नाम नेकपा राखेपनि चुनाव चिन्हमा सूर्यभित्र गोलाकारसहितको हँसिया हथौडा राख्ने सहमति भएको थियो। तर, पछि निर्वाचन आयोगमा पार्टी दर्तासँगै चुनाव चिन्ह प्रस्तुत गर्दा माओवादी नामको पार्टीमात्र होइन त्यससँग चुनावी राजनीतिमा जोडिएको गोलाकारभित्रको हँसिया हथौडा पनि हरायो।
त्यसको पछिल्लो उदाहरण हो मंसिर १४ गतेका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाका उम्मेदवारको चुनाव चिन्ह ‘सूर्य’। तर, एमालेसँग एकीकरण पश्चात माओवादी नामको पार्टी त रहेन नै उसले विगत तीन चुनावमा मतदातासमक्ष अमूल्य मत माग्नका लागि प्रयोग गरेको ‘गोलाकारभित्र हँसिया हथौडा’ चिन्ह पनि थियो र भन्ने अवस्थामा पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय