हिमाल दैनिक
विभिन्न संवैधानिक निकायको नियुक्तिका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विदेशमा रहेको र सभामुख पद रिक्त रहेको अवस्थामा पनि प्रधानमन्त्री ओलीले एकाएक आइतबार अपरान्ह ४ः३० बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएका थिए। संविधानत् ६ जना सदस्य रहने परिषदमा पाँच जना कम्तिमा उपस्थित हुनु पर्ने र सर्वसम्मत नभएर कम्तिमा चार जनाको बहुमत चाहिने व्यवस्थाबारे जानकार रहेका प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश बाहिर रहेको पत्तो भएर पनि परिषदको बैठक बोलाएका थिए। तर, बैठक बस्नु केही समयअघि मात्रै उनले त्यसबारे कुरा बुझेपछि हठात संवैधानिक परिषदको बैठक स्थगित गरेको सरकारी स्रोतले बतायो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, परिषदका अध्यक्ष समेत रहेका ओलीले बैठकको अर्को मिति मंगलबारका लागि तय गरेका छन्। तर, उक्त दिन पार्टीको तीन नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रममा कांग्रेस सभापति देउवा मकवानपुरको हेटौंडामा जाने पूर्वघोषित कार्यक्रम रहेको छ। जसको कारण उक्त दिनको बैठक पनि प्रभावित हुन सक्ने सम्भावना बढेर गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोेग, निर्वाचन आयोग, लगायत विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरुको लामो समयदेखि नियुक्ति हुन सकिरहेको छैन।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update