हिमाल दैनिक
भारतीय पक्षले सार्वजनिक गरेको नक्सामा नेपालको सुदूरपश्चिमको लिपुलेक र कालापानी क्षेत्र भारतीय भूमिमा समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। भारतले दार्चुला जिल्लाको नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने लिपुलेक र कालापानी आफ्नो भूभागभित्र समेटेको अन्तर्राष्ट्रिय सीमा बाहिर ल्याएपछि त्यसबारे नेपालभित्र चर्को विवाद र बहसको विषय बन्न पुगेको छ। यसबारे सरकारको आधिकारिक निकायबाट स्पष्ट स्वरमा आफ्नो धारणा बाहिर ल्याएर उक्त समस्या समाधानका लागि कुटनीतिक पहल नलिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले शनिबार अपरान्ह ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको बालुवाटार स्रोतले बतायो। यसअघि परराष्ट्र मन्त्रालयको नाममा कुनै आधिकारिक प्रतिनिधिको नाम नै उल्लेख नगरी हस्ताक्षर समेत नबुझिने विज्ञप्ति जारी गरी कालापानी र लिपुलेक नेपालको भएको धारणा सार्वजनिक गरेको थियो। तर, भारतीय पक्षले भने आफ्नो नक्सामा नेपालको यी दुई क्षेत्र नराखिएको स्पष्टिकरण दिएको थियो। यसैबीच सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने त्यो भनाइको खण्डन गर्दै नेपालको दुई प्रतिशत सीमा भारतले मिचेको बताएका थिए। यसरी विभिन्न राजनीतिक दलका नेतादेखि कार्यकर्ता र सर्वसाधारण जनताले समेत यो विषयमा गम्भीर चासो देखाएपछि बिहीबार प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मंजिवसिंह पुरीलाईृ टेलिफोन गरी कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै त्यो भूभागको विषयमा कुटनीतिक पहल गरी समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update