भारतले सार्वजनिक गरेको विवादस्पद नक्सामा कालापानी र लिपुलेकलाई भारतीय भूमिमा राखेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्।
हालै भारतले सार्वजनिक गरेको उक्त नक्सामा कालापानी र लिपुलेक भारतीय भूमिमा परेको समाचार प्रकाशित भएलगत्तै बिहीबार पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालका लागि भारतीय राजदूत मंजिवसिंह पुरीसँग टेलिफोन मार्फत ध्यानाकर्षण गराए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्ति अनुसार, सभापति देउवाले राजदूत पुरीसँग टेलिफोन मार्फत हालै सार्वजनिक भएको नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएका थिए।
साथै देउवाले यस्तो यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्नेमा पनि जोड दिएको शर्माले बताएका छन्।
यी दुई सामरिक महत्वका क्षेत्र भारतीय भूमिमा परेको भन्दै नक्सा सार्वजनिक भएपछि कांग्रेसले उक्त विषयमा प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको थियो।
कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भुमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य भएको पनि उसले बताइसकेको छ।
उक्त विषयमा समाचार प्रकाशित भएपछि भारतीय विदेश मन्त्रालयका प्रतिनिधिले उक्त नक्सामा नेपालको भूभाग अतिक्रमण नभएको स्पष्टिकरण दिएको छ भने, नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले हस्ताक्षर समेत नबुझिने गरी विज्ञप्ति जारी गरेको थियो।
यसैबीच बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालको दुई प्रतिशत भूभाग भारतले अतिक्रमण गरेको सार्वजनिक अभिव्यक्ति दिएका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय