नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा पुराना कांग्रेस नेता खेमराज पौडेललाई टिकट दिने आन्तरिक निर्णय गरेकाे समाचार सार्वजनिक भएलगत्तै टिकटका प्रमुख दावेदारमध्ये एक देवराज चालिसेले पौडललाई अग्रिम शुभकामना दिएकाछन्।
कांग्रेस पदाधिकारीहरुको सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले कास्की २ मा विगत ६ दशकदेखि क्रियाशील भएर पनि कुनै अवसर नपाएका नेता पौडेललाई उम्मेदवार बनाउने निर्णयको जानकारी पाए लगत्तै प्रखरवक्ता चालिसेले फेसबुकमार्फत शुभकामना दिएर राजनीतिक संस्कारको उच्च नमूना प्रदर्शन गरे।
अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट चुनाव लडेर पराजित भएका चालिसेले उपनिर्वाचनमा टिकटको लागि अन्तिम समयसम्म प्रयास गरेका थिए। तर, पार्टी नेतृत्वले उपनिर्वाचनमा सबै विषयमाथि गम्भीर छलफल गरी पौडेलको राजनीतिक जीवनमा गरेको योगदानको कदर गर्दै उम्मेदवार बनाउने निर्णयमा पुगेको थियो।
पदाधिकारी बैठकले लिएको निर्णयले औपचारिकता नपाउँदै समाचारमाध्यममा पौडलको नाम सार्वजनिक भएपछि प्रमुख प्रतिस्पर्धी रहेका चालिसेले फेसबुकमार्फत बधाई र शुभकामना दिएर राजनीतिक संस्कारकाे नमूना मात्र हाेइन कास्की कांग्रेसभित्र नेताहरूबीच एकता रहेकाे सन्देश पनि दिएका छन्।
‘नेपाली कांग्रेसका आदरयोग्य नेता खेमराज पौडेल ज्यू लाई नेपाली कांग्रेसले कास्की २ को उपनिर्वाचनमा उम्मेदवार चयन गरेकोमा हार्दिक वधाई ज्ञापन गर्दै विजयको अग्रिम शुभकामना व्यक्त गर्दछु,’ चालिसेले भनेका छन्।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय