राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सात नेताहरुलाई प्रदेश प्रमुखमा नियुक्ति गर्दै पद तथा गोपनीयताको शपथ दिलाएकी छिन्।
नेकपा सचिवालयको निर्णय र सिफारिसका आधारमा सोमबार मन्त्रिपरिषदले गरेको नियुक्तिको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले नेकपाका केन्द्रदेखि स्थानीय तहसम्मका सात नेतालाई राष्ट्रपति कार्यालयमा मंगलबार प्रदेश प्रमुखकको पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।
सरकारको निर्णय अनुसार, राष्ट्रपति भण्डारीले आइतबार एकाएक सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेपछि सत्तारुढ नेकपा सचिवालय बैठकले पार्टी नेताहरु अमिक शेरचन, सोमनाथ अधिकारी प्यासीदेखि झापामा मेयरको चुनाव हारेका विष्णुप्रसाद प्रसाईसम्मलाई प्रदेश प्रमुखको पदमा नियुक्तिको सिफारिस गरेको थियो।
त्यसलगत्तै मन्त्रिपरिषदले गरेको निर्णय अनुसार आज सपथ लिनेहरुमा प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ को प्रमुखमा तिलक परियार, प्रदेश ३ को प्रमुखमा विष्णुप्रसाद प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदुरपश्चिम प्रदेशको प्रमुखमा शर्मिलाकुमारी पन्त रहेका छन्।
राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिती रहेको थियो।
यसअघि राष्ट्रपतिले मन्त्रिपरिषद्को यही आइतबारको निर्णय अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश नं १), रत्नेश्वरलाल कायस्थ (प्रदेश नं २), अनुराधा कोइराला (प्रदेश नं ३), बाबुराम कुँवर )गण्डकी प्रदेश), उमाकान्त झा (प्रदेश नं ५), दुर्गाकेशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदूरपश्चिम प्रदेश)लाई विना आरोप र स्पष्टिकरण पदमुक्त गरेकी थिइन्।
जसमा संविधानको सोही धाराको उपधारा २ ले प्रदेश प्रमुखको पदमुक्ति पश्चात सम्बन्धित प्रदेशको जिम्मेवारी अर्को प्रदेश प्रमुखले हेर्ने बाध्यकारी व्यवस्था समेत खण्डित भएको थियो।
[caption id="attachment_76646" align="alignnone" width="900"] राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार शीतल निवासमा नवनियुक्त सात प्रदेशका प्रमुखको शपथग्रहणपछि सामूहिक तस्वीरमा । तस्वीरःप्रदीपराज वन्त,[/caption]
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय