सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त रहेको सात प्रदेश प्रमुख पदमा आफ्नो पार्टीका नेताहरुलाई भर्ति गर्न दिएको आदेश बमोजिम मन्त्रिपरिषदले उनीहरुलाई नियुक्तिको सिफारिस गरेको छ।
सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १, तिलक परियारलाई प्रदेश २, विष्णु प्रसाईलाई प्रदेश ३, अमिक शेरचनलाई गण्डकी प्रदेश, धर्मनाथ यादवलाई प्रदेश ५, गोविन्द कलौनीलाई कर्णाली तथा शर्मिला त्रिपाठीलाई सुदुरश्चिम प्रदेशको प्रमुख पदमा नियुक्तिको सिफारिस गरेको छ।
यसअघि नेकपा सचिवालय बैठकले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई एकैचोटी वर्खास्त गरेर रिक्त भएका पदमा उनीहरुलाई नियुक्तिको सिफारिस गर्न भनेको थियो।
संविधानको व्यवस्था अनुसार, राष्ट्रपतिले उनीहरुलाई पद तथा गोपनियताको सपथ दिलाएपछि सिफारिसमा परेका व्यक्तिहरु प्रदेशको नयाँ प्रदेश प्रमुख पदमा पदासिन हुने छन्।
संविधानले संघीयताको संरचना बलियो बनाउने उद्देश्यले परिकल्पना गरेको प्रदेश प्रमुख पदमा सैद्धान्तिक रुपमा सकेसम्म राजनीतिक भन्दा अलग र तटस्थ व्यक्तिको नियुक्ति हुन्छ भन्ने मान्यता हुनु स्वाभाविक हो। तर, त्यो मान्यतालाई खण्डित गर्दै सत्तारुढ दल नेकपा सचिवालयले उक्त पदलाई पार्टीका नेताहरुको व्यवस्थापनका लागि उपयोग गरेको छ।
त्यो पनि अरु दलको विमति होइन, नेकपाकै नेता माधवकुमार नेपालको समेत असहमतिका बाबजूद नेपका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र द्धितीय अध्यक्ष पुष्पकमल दाहालबीच चार/तीनको भागवण्डामा।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुखमा अमृतकुमार बोहोरा, प्रदिप नेपाल, विश्वकान्त मैनाली, रघु पन्त र श्रीमाया थकालीको नाम अघि सारेका थिए। आफूले पेश गरेका नाम कुनै पनि नअटेपछि नेता नेपालले बैठकमा असहमति (नोटअफ डिसेन्ट) दर्ज गरेको स्रोतले बतायो।
यसरी नियुक्तिको सिफारिसमा परेका व्यक्तिहरु विगत लामो समयदेखि विघटित नेकपा एमाले र नेकपा माओवादीको राजनीतिबाट राष्ट्रिय राजनीतिमा क्रियाशील व्यक्तिदेखि स्थानीय तहमा जनताले नपत्याएका सम्म परेका छन्।
राष्ट्रपतिमा चर्चा चल्यो, थन्किए प्रदेश प्रमुखमा
तत्कालिन संयुक्त जनमोर्चाको नेताका रुपमा स्थापित कम्युनिष्ट नेता अमिक शेरचनको परिचय विरलै मानिसका लागि मात्रै नौलो हुन सक्दछ।
दोस्रो जनआन्दोलनका क्रममा सात दलका नेतामध्ये एक भनेर चिनिएका शेरचन जनआन्दोलन लगत्तै बनेको सरकारमा उपप्रधानमन्त्री बने। त्यसपछिको समयमा माओवादीमा विलय भएपछि राष्ट्रिय राजनीतिमा छायाँमा परेका शेरचनलाई तत्कालिन माओवादीले पटक पटक राष्ट्रपतिको उम्मेदवार बनाउने कोशिश नगरेको होइन। तर, त्यो पदसँगै पार्टी राजनीतिमा पनि ओझेलमा परेका शेरचनलाई अहिले देशको नभएपनि प्रदेशको प्रमुख बनाउन नेकपाले पूर्वमाओवादी कोटामा सिफारिस गरेको छ।
प्रदेश प्रमुख पदका लागि सिफारिसमा परेका सोमनाथ अधिकारी प्यासी पञ्चायत कालमा तत्कालिन मालेबाट जनपक्षिय उम्मेदवार बन्दै कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए।
त्यसपछि बहुदलीय प्रजातन्त्रको पुनस्थापना पश्चात उनी एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। तत्पश्चात एमाले निर्वाचन समिति र अनुशासन समितिमा संयोजकको भूमिका निभाएका प्यासी पछिल्लो समय कास्कीमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक थिए। तर, उनलाई पार्टीले टिकट नदिई प्रदेश प्रमुखको जिम्मेवारी दिने निर्णय गर्यो।
त्यसैगरी कञ्चनपुरका गोविन्द कलौनी पुरानै मालेका कार्यकता हुन्। जो शिक्षण पेशाबाट राजनीतिमा सक्रिय हुँदै ०५१ सालमा डढेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवासित, ०५६ मा वैतडीमा र ०६४ मा कन्चनपुरमा चुनाव लडेर पराजित भएका थिए। हाल उनी नेकपा केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्ष रहेका छन्।
त्यसैगरी, बहुचर्चित झापा आन्दोलनबाट राजनीतिमा लाग्दै कहिले संसदीय निर्वाचनमा त कहिले नगरपालिका प्रमुख पदका लागि भएको निर्वाचनमा पराजित भएका विष्णु प्रसाईले प्रधानमन्त्री ओलीको कृपामा प्रदेश प्रमुख बन्ने भाग्यशाली व्यक्ति बन्न पुगेका छन्।
उनी गत स्थानीय निर्वाचनमा झापाको मेची नगरपालिका मेयरमा कांग्रेस विमल आचार्यसँग पराजित भएका थिए।
त्यसैगरी सिराहका धर्मनाथ यादव पनि पटक एमालेको राजनीतिमा खासै सफल हुन नसकेका नेता हुन्।
पूर्वमाओवादी कोटामा प्रदेश प्रमुख बन्ने अर्का भाग्यशाली नेतामा दलित आन्दोलनबाट आएका पूर्वसभासद तिलक परियार पनि हुन्। उनी माओवादीबाट विद्रोह गर्दै मोहन बैद्य र विप्लव समूहमा गएपनि पछि पुनः माओवादीमै फर्किएका थिए।
यसैगरी सातमध्ये एकजनामात्रै महिला उम्मेदवारका रुपमा रहेकी शर्मिला त्रिपाठी चितवनका तत्कालिन विद्यार्थी नेता ज्ञानेन्द्र त्रिपाठीकी पत्नी हुन्।
एमालेमा विभाजन पश्चात वामदेव गौतमसँगै मालेको विद्यार्थी राजनीतिमा सक्रिय रहेका ज्ञानेन्द्र पछि एमाले र मालेबीच एकीकरण भएपश्चात माओवादीमा गएका थिए। माओवादीको विद्यार्थी तथा बुद्धिजिवी फाँट हेर्ने जिम्मेवारी पाएका ज्ञानेन्द्र त्रिपाठीलाई द्धन्द्धकालमा वेपत्तापारी मारिएको आरोप माओवादीले लगाउँदै आएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय